हामी जनतालाई सडकमा उतार्दैनौं, सबै बेथितिको अन्त्य २०८४ को निर्वाचनले गर्नेछ : रवि लामिछाने

हामी जनतालाई सडकमा उतार्दैनौं, सबै बेथितिको अन्त्य २०८४ को निर्वाचनले गर्नेछ : रवि लामिछाने

काभ्रेपलाञ्चोक : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्।

काभ्रेपलाञ्चोकको बनेपामा बिहीबार आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको उल्लेख गरे।

‘हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौं, उहाँहरूका काममा साथ दिन चाहान्छौं, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौं, सडक तताउँदैनौं,’ लामिछानेले भने।

रास्वपाले भ्रष्टाचार लगायत  आपराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ को निर्वाचनले देखाउने नेता लामिछानेले बताए।

‘हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौं, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ,’ उनले भने।

लामिछानेले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन कि अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा बताए। उनले भने, ‘अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस्।’

असोज ११, २०८० बिहीबार १३:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।