धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रचण्ड

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
 
इन्द्रजात्राका अवसरमा बिहीबार शुभकामना दिंदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
 
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिबिम्बित गर्दै आएको बताए। 

देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको र यो सबैका लागि गौरवको कुरा भएको उनले उल्लेख गरे।

असोज ११, २०८० बिहीबार ११:२८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।