एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा मतदान अनिश्चित, कर्णालीमा बन्द सत्र शुरु हुँदै

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा मतदान अनिश्चित, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाडौं : एमाले बागमती प्रदेश अधिवेशनमा मतदान अनिश्चित बनेको छ। निर्वाचन तालिका अनुसार आज बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि अहिलेसम्म नामावली प्रकाशित नभएको बताइएको छ। 

कार्यतालिका अनुसार आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने भनिएपनि अझै प्रक्रिया अघि नबढेको नेताहरुले बताएका छन्। 

यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताएका थिए। 

एमाले बाग्मतीको प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ। 

कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । 

यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र हुँदैछ। बन्द सत्र शुरु हुने तयारीमा रहेको एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतराले बताए।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वुधबार कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए। 

असोज ११, २०८० बिहीबार १०:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।