रोयल ब्लूले क्रिकेटर कुशल र दीपेन्द्रलाई २–२ लाख दिने
काठमाडौं : रोयल ब्लूले कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई २–२ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ।
एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका ऐरी र मल्ललाई २–२ लाख दिने भएको हो।
बुधबार भएको एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पारेको थियो।
कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाएको खेलमा नेपालले टी–२० आईमा ३१४ रनको कीर्तिमानी बनाएको थियो।
दुवै खेलाडीले क्रिकेट कौशलको असाधारण प्रदर्शन गरेको भन्दै रोयल ब्लूले उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न लागेको जनाएको हो।
यस्तै लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
एसियन गेम्समा मंगोलियाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका दीपेन्द्रलाई लुम्बिनी अल स्टार्सले एक लाख रुपैयाँ दिने बताएको हो।
दीपेन्द्र लुम्बिनी अल स्टार्सका कप्तान समेत हुन्। उनैको कप्तानीमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी ट्वान्टी लिगको उपाधि समेत जितेको थियो।
यस्तै, लुम्बिनी अल स्टार्सले मंगोलियाविरुद्ध प्लेइङ ११ मा उत्रने सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने बताएको छ। खेलाडीको प्रर्दशनको सम्मान गर्दै पुरस्कार रकमको घोषणा गरिएको अल स्टार्सले जनाएको छ।
असोज ११, २०८० बिहीबार १०:१८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।