इन्जिनियरिङको तयारी छाडेर व्यवसायी बनेका प्रकाश, भन्छन् : पैसा भएर पनि ऋण तिर्न नचाहानेका लागि आर्थिक मन्दी बहाना

इन्जिनियरिङको तयारी छाडेर व्यवसायी बनेका प्रकाश, भन्छन् :  पैसा भएर पनि ऋण तिर्न नचाहानेका लागि आर्थिक मन्दी बहाना

बुटवल : भनिन्छ, देखेको हुँदैन लेखेको हुन्छ। देखेकै भरमा हुने भए बुटवलका युवा व्यवसायी प्रकाश भुसाल अहिले इन्जिनियरिङ पेसा अंगालिरहेका हुन्थे। 

कुनै बेला प्रकाश इन्जिनियर बन्ने योजनाका साथ काठमाडौंमा तयारी कक्षा पढ्न हिंडेका थिए। २०६३ सालको कुरा हो। काठमाडौंमा इन्जिनियरिङको तयारी कक्षा पढ्न गएका उनको भेट विवश पराजुलीसँग भयो।

विवश एमबीबीएसको तयारी गर्न मणिग्रामबाट काठमाडौं पुगेका थिए। दुवै जना रुम मेट बने। इन्जिनियरिङको तयारी कक्षाका लागि काठमाडौं पुगे पनि प्रकाश साथी विवशसँग विजनेश गर्ने भन्दै गफ गर्थे।

मन विजनेश गर्ने थियो, तर तयारी इन्जिनियरिङको गर्दै थिए प्रकाश। मनदेखि नै विजनेशको हुटहुटिले बीचमै इन्जिनियरिङको तयारी कक्षा छाडेर प्रकाश विजनेश गर्ने भन्दै बुटवल आए।

बुटवल आएपछि उनले एमबीबीएस, नर्सिङको तयारी कक्षा र बिज्रकोर्षको कक्षा बुटवलमै सञ्चालन गर्ने योजना बनाए। लगानी गर्न पैसा थिएन। ४ महिना होम टिउसन पढाए। २५ हजार जम्मा भयो। अनि ७ जना साथीहरू मिलेर २५/२५ हजार लगानी गरेर २०६४ सालमा ह्वाइट हाउस एजुकेसन जोन सुरु गरे।

ह्वाइटमा हाउसबाट सुरु भएको प्रकाशको व्यावसायिक यात्रा अहिले लोभलाग्दो छ। सामान्य परिवारमा अर्घाखाँची मालारानी–४ मा जन्मेका प्रकाशले व्यवसायबाटै सफलता प्राप्त गरेका छन्।

व्यावसायिक यात्रा थालनी गरेको १६ वर्षमै प्रकाश ३५ वर्षको उमेरमै सफल व्यवसायीको पहिचान स्थापित गर्न सफल भएका छन्।

‘ऊ बेला इन्जिनियर बन्ने भन्दै काठमाडौं गएँ। तर मनले पढ्नै मानेन। बुटवल आएर विजनेश सुरु गरें। रुममेट साथी पनि स्कलरशिपमा नाम निकाली डाक्टर बन्यो। अहिले डाक्टर बनेर बुटवलकै प्रादेशिक अस्पतालमा आएको छ। म आफ्नो विजनेशबाट सन्तुष्ट छु,’ उनले भने।

१९ वर्षको उमेरमा ह्वाइट हाउस एजुकेसन जोन सञ्चालन गरेर व्यवसायको यात्रा थालेका प्रकाश अहिले एकल र साझेदारी सहित ६ वटा विजनेशका मालिक बनेका छन्।

‘कामप्रति लगाव राख्ने हो भने विजनेश गर्न गाह्रो छैन। कर्ममा विश्वास गरेर अघि बढ्छु। कसले के भनेको छ भनेर पछाडि फर्केर हेर्ने बानी छैन,’ उनले भने।

पीएनके इण्डष्ट्रिज, ह्वाइट हाउस एजुकेसन जोन, ह्वाइट हाउस युनिफर्म, डेल्ट्रा एजुकेसन मार्ट, डीईएम गार्मेन्ट उनले लगानी गरेका साझेदार व्यवसाय हुन्।

हालै मात्र २ करोडको एकल लगानीमा प्रकाशले बुटवलमा नेपाली लुगा घर सञ्चालनमा ल्याएका छन्। योसँग ६ वटा विजनेश उनको छ। यो ६ वटै विजनेशमा उनले ८ करोड बढी लगानी गरेका छन्। त्यस्तै १७० जना भन्दा बढीले रोजगारी पाएका छन्। 

नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा ग्राहकसम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको प्रकाश बताउँछन्।

नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्ड भर्जिन, याक एण्ड न्याक, गोफि, ट्याग, फ्रिडम, के-के ब्राण्डका कपडाहरू उद्योगबाट सिधै ग्राहकलाई बिक्री गरिरहेको उनले बताए। यी सबै विजनेशमा श्रीमती ज्योति पौडेलले साथ दिएकी छन्। 
आर्थिक मन्दीको समयमा पनि खुलेर लगानी गरिरहेका प्रकाश मन्दी केवल असफलता प्राप्त गरिरहेकाहरूलाई बहाना भइरहेको बताउँछन्।

‘देखावटी गर्न बैंकबाट अनावश्यक लोन लिएर काम गरेकालाई गाह्रो भएको छ। आफ्नै संघर्षले काम गरेकाहरूलाई मन्दीले छोएको छैन। मन्दी केवल असफल हुनेहरूका लागि बहाना मात्र बनिरहेको छ,’ उनी भन्छन्।

कोरोना र मन्दीले केही प्रभाव बजारमा परे पनि बजार चलायमान नहुनु आर्थिक मन्दी मात्र प्रमुख कारण नभएको उनले बताए। उनले काम गरेर खानेलाई आर्थिक मन्दी नभएको बताए।

‘खल्तीमा पैसा भएका तर ऋण तिर्नु पर्नेहरूका लागि पनि मन्दी बहाना बनेको छ। मन्दी भनेर पैसा तिर्नुपर्ने ठाउँमा तिर्दैनन्। बैंकको ब्याज तिर्दैनन्। पैसा नै खर्च नगरेपछि बजार चलायमान हुने कुरा भएन,’ उनले भने।

असोज ११, २०८० बिहीबार १०:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।