ग्लेन म्याक्सवेल चम्कँदा अस्ट्रेलियालाई सान्त्वना जित, उपाधि भारतलाई

ग्लेन म्याक्सवेल चम्कँदा अस्ट्रेलियालाई सान्त्वना जित, उपाधि भारतलाई


एजेन्सी – तेस्रो ओडिआई खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको छ। तीन खेलको सिरिजको उपाधि भने भारतले एक खेल अगाडि नै जितिसकेको छ।

३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अल आउट भएपछि अस्ट्रेलियाले सान्त्वना जित पायो। सान्त्वना जितमा अस्ट्रेलियाका पार्टटाइम स्पिनर ग्लेन म्याक्सवेलको उत्कृष्ट बलिङ निर्णायक भयो।

टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो। ओपनर मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्कासहित सर्वाधिक ९६ रन बनाएका थिए।

ओपनर डेभिड वार्नर ३४ बलमा ६ चौका र ४ छक्कासहित ५६ रन बनाएर आउट भए। पहिलो विकेटका लागि वार्नर र मार्शले ८।१ ओभरमा ७८ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि मार्श र स्टिभ स्मिथले १ सय ३७ रनको साझेदारी गरेका थिए।

स्टिभ स्मिथ ६१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा आउट भए। स्मिथ मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भएका थिए। ग्लेन म्याक्सवेल ५, क्यामरन ग्रिन ९ र एलेक्स केरी ११ रनमा आउट भए।

मार्नस लाबुसेनले ५८ बलमा ९ चौकासहित ७२ रन जोडेका थिए। प्याट कमिन्स १९ र मिचेल स्टार्क १ रनमा नटआउट रहे।

भारतका बलर जस्प्रित बुमराहले १० ओभरमा ८१ रन खर्चेर ३ विकेट लिएका थिए भने कुलदीप यादवले ६ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए। मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले एक-एक विकेट लिएका थिए।

विशाल लक्ष्य पुरा गर्न ब्याटिङमा उत्रिएको भारतका ओपनर तथा कप्तान रोहित शर्माले ५७ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए। उनी रोहित ग्लेन म्याक्सवेलको बलमा कट एन्ड बोल्ड आउट भएका थिए।

विराट कोहली ६१ बलमा ५ चौका र १ छक्कासहित ५६ रनमा आउट भए। श्रेयस ऐर ४३ बलमा १ चौका र २ छक्कासहित ४८ रनमा आउट भएका थिए।

कोहली र ऐर पनि म्याक्सवेलकै बलमा आउट भएका थिए। ओपनर वासिन्टन सुन्दर १८, लोकेश राहुल २६, सूर्यकुमार यादव ८ र रविन्द्र जडेजा ३५ रनमा आउट भएका थिए।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। जोश हेजलवुडले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए। मिचेल स्टार्क, प्याट कमिन्स, क्यामरन ग्रिन र तनविर संघाले समान एक विकेट लिए।

असोज १०, २०८० बुधबार २२:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।