गुटको नेता जिताउन' ओलीको सर्वसम्मतको सूत्र काम लागेन, बागमती प्रदेशका लागि पाँच जनाको उम्मेदवारी

गुटको नेता जिताउन' ओलीको सर्वसम्मतको सूत्र काम लागेन, बागमती प्रदेशका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौँ : बागमती प्रदेशको अध्यक्षमा प्रतिस्पर्धा नै नगराई आफ्नै गुटका नेता ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल भएको छ।

ओलीले बागमतीको नेतृत्व सर्वसम्मत रूपमा चयन गराउने प्रयास गरेका थिए। तर सर्वसम्मत सहमति आफूले चाहेको उम्मेदवारको नाममा मात्र गराउने उनको रणनीति चुहिएपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।

चितवनमा भएको पार्टीको महाधिवेशनमा ओली आफैँ प्यानल बनाएर निर्वाचित भएका थिए। बागमती प्रदेश अधिवेशनको उद्घाटन सत्रमा उनले प्यानल बनाएर निर्वाचनमा उम्मेदवार बने कारबाही गर्ने धम्की दिएका थिए। उनको धम्कीको प्रभाव उम्मेदवारी दर्तामा देखिएन।

बागमती प्रदेशको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल,सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन्।

यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवको दुईवटा पदमा खड्गबहादुर खत्री, गङ्गादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ।

असोज १०, २०८० बुधबार २०:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।