सुन तस्करी बढेपछि राष्ट्र बैङ्कले बढायो आयात कोटा, अब दैनिक २० किलो ल्याउन पाइने

सुन तस्करी बढेपछि राष्ट्र बैङ्कले बढायो आयात कोटा, अब दैनिक २० किलो ल्याउन पाइने

काठमाडौँ : नेपालमा सुन तस्करी हुनुको कारणमध्ये माग अनुसारको वैध आयातको अनुमति नपाउनु भन्दै व्यवसायीले कोटा बढाउन माग गरेपछि नेपाल राष्ट्र बैङ्कले सत् प्रतिशत कोटा बढाएको छ।

यस अगाडि वाणिज्य बैङ्कहरूले महिनाको १० किलो मात्र आयात गर्ने अनुमति पाउँदै आएका थिए। राष्ट्र बैङ्कले कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने बनाएको हो। बुधबार राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले बैङ्कहरूलाई पठाएको परिपत्रमा दैनिक २० किलो सुन आयात गर्न पाउने निर्णय भएकोबारे उल्लेख छ।

राष्ट्र बैङ्कको अनुमतिमा वाणिज्य बैङ्कहरूले सुन आयात गरेर सुन ब्यवसायीहरुको दुई वटा सङ्घ अनि हस्तकला महासङ्घलाई विक्री गर्न पाउँछ। सर्वसाधारणले बैङ्कबाट सिधै सुन किन्न पाउँदैनन्।

राष्ट्र बैङ्कको परिपत्र अनुसार दैनिक कोटाको अनुमति जगेडा गर्न भने पाइने छैन। कोटा अनुसार अग्रिम आयात गरेर जगेडा राख्न वा आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने पाइँदैन। एकै महिनाभित्र दैनिक कोटा अनुसारको सुन आयात भने गर्न पाइने परिपत्रमा उल्लेख छ।

सुन व्यवसायीहरूका अनुसार नेपालमा मात्रै दैनिक ३५ देखि ४० किलो सुनको माग हुने गरेको छ। दैनिक १० किलो सुन ग्राहकले विक्री गर्ने पुरानो सुनबाट पूर्ति हुने गरेको अनुमान छ। सो अनुसार पनि अझै दैनिक ५ देखि १० किलोसम्म अभाव हुने देखिन्छ।

हालै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमा चिनिया टोलीले विभिन्न सामानमा लुकाएर तीन सय किलो भन्दा बढी सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। पक्राउ परेकाहरुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको छ।

असोज १०, २०८० बुधबार १९:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।