प्यानल बनाएर कारबाही गर्ने चेतावनी दिएका पार्टी अध्यक्ष नै गुट बनाउँदै, ढुङ्गेललाई सर्वसम्मत गराउने रणनीति असफल

प्यानल बनाएर कारबाही गर्ने चेतावनी दिएका पार्टी अध्यक्ष नै गुट बनाउँदै, ढुङ्गेललाई सर्वसम्मत गराउने रणनीति असफल

काठमाडौँ : पार्टीको बागमती प्रदेशको नेतृत्वका आकांक्षीहरुलाई प्यानल नबनाउन र सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिएका एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ गुटबन्दीमा सक्रिय भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्नु भन्दै प्यानल बनाएर कारबाही गर्ने धम्की दिएका ओली आफैँ अध्यक्षका आकाङ्क्षीमध्ये कैलाश ढुङ्गेलको पक्षमा लागेका हुन्।

असोज ९ मा सुरु भएको प्रदेश अधिवेशनमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले नेतृत्वको दाबी गरेका थिए। छलफलबाट सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै गुरु बराल आफैँ छलफलमा जुटे पनि ढुङ्गेल बाहेक अन्यको हकमा सहमति नहुने सङ्केत पाएपछि अध्यक्षका अन्य आकाङ्क्षी सहमतिमा आएनन्।

पार्टी अध्यक्ष ओली समूहका नेताहरूले सर्वसम्मत भन्दै ढुङ्गेललाई निर्विरोध गराउने रणनीति बनाएको खुलेपछि अन्य आकाङ्क्षीहरू उम्मेदवारी दिने अडानमै रहे। त्यसपछि अध्यक्ष मण्डलले बिहीबार दिउँसो ११ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्य तालिका सार्वजनिक गर्न बाध्य भयो।

अध्यक्ष ओलीले प्यानल बनाए कारबाही गर्छु भने पनि सबैभन्दा पहिला उनकै समर्थन पाएका ढुङ्गेलले प्यानल बनाएका छन्। उनको समूहमा उपाध्यक्षमा दावा तामाङ, सचिवमा हस्त पण्डित र उपसचिवमा रमेश आचार्य रहने ढुङ्गेल समूहका एक नेताले उकेरालाई जानकारी दिए।

उता अध्यक्षका अर्का आकाङ्क्षी कृष्णप्रसाद दाहालले पनि प्यानल बनाएका छन्। उनको समूहबाट उपाध्यक्षमा भूमि त्रिपाठी र सचिवमा सुवास कर्माचार्य तय भएको एक नेताले बताए।

' सचिवमा सुवास भनिए पनि बदलिएर नवराज सिलवाल पनि हुन सक्छन्। तर अन्य उम्मेदवार भने पक्का भइसक्यो' एक नेताले उकेरालाई भने। एक हजार १ सय ७४ मतदाता रहेको प्रदेश अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ।

असोज १०, २०८० बुधबार १६:४६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।