बुटवलका व्यवसायीलाई चुनावको चटारो, प्रचारलाई तीव्रता दिँदै अर्याल र श्रेष्ठ
बुटवल : बुटवल उद्योग वाणिज्य संघको २५औं अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूले आन्तरिक प्रचार तथा भेटघाटलाई तीव्रता दिएका छन्।
सहमतिबाटै नेतृत्व छान्ने प्रयास भएको बताइए पनि दुवै अध्यक्षका आकांक्षीले छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने निश्चितजस्तै भएपछि छलफल, प्रचार र भेटघाटका कार्यक्रमलाई तीव्रता दिएका हुन्।
असोज १९ गतेदेखि हुन लागेको संघको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनमा यसअघिका अध्यक्षका प्रत्यासी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठबीच नेतृत्वका लागि आमनेसामने हुँदैछन्।
अर्याल संघका पूर्व बाणिज्य उपाध्यक्ष हुन्। संघको २४औं अधिवेशनमा उनी उज्वल कसजुसँग नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए।
दुवैले अध्यक्षमा उम्मेदवारी नै दिने भन्दै आफ्ना एजेण्डा व्यवसायीहरू माझ प्रस्तुत गरिरहेका छन्। यस क्षेत्रको ठूलो संस्था मानिने बुटवल उद्योग वाणिज्य संघको नेतृत्वलाई यहाँका अन्य संघसंस्थाले चासोपूर्वक हेरेका छन्।
अघिल्लो अधिवेशनमा उज्जव कसजुविरुद्ध एकल उम्मेदवारी दिएका अर्याल यसपटक अन्य व्यवसायीलाई पनि नेतृत्वमा ल्याउने गरी प्यानल बनाउन लागेका छन्।
खासगरी नेपाली कांग्रेस निकट बढी व्यवसायी रहेको संघमा अध्यक्षका दुवै आकांक्षी कांग्रेसका शुभचिन्तक हुन्। अर्यालले यसपटक अन्य पदमा एमालेका शुभ चिन्तकहरूलाई समेत समेटेर प्यानल बनाउन लागेको बुझिएको छ।
अध्यक्षका आकांक्षी हरि अर्याल बुटवलमा पछिल्लो समय व्यापारिक गतिविधि कम भएको भन्दै बुटवललाई आर्थिक चलायमान बनाउने योजना आफूसँग रहेको भन्दै बुटवलको व्यापार पुरानै लयमा ल्याउने योजना सहित निर्वाचनमा होमिएको बताए।
‘सबै व्यवसायी साथीहरूले साथ दिनुभएको छ। मेरो उम्मेदवारी व्यवसायी मित्रको सधै भलो हुने गरी रहनेछ’, उनले भने।
त्यस्तै अध्यक्षका अर्का आकांक्षी दिनेशप्रसाद श्रेष्ठले बुटवलको व्यवसायलाई पर्यटनसँग जोड्ने आफ्नो योजना रहेको बताए।
अर्याल कार्यसमिति सदस्य, महासचिव र वाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुन् भने श्रेष्ठले कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।
नेतृत्व गर्न चाहेका दुवै जनासँग संस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने मिसन र भिजन छ। व्यवसायीका समस्या के छन् भन्नेबारे पनि दुवै जानकार छन्।
आउँदो अधिवेशनमा अर्यालले वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सह कोषाध्यक्षमा धनाप्रसादी खनाललाई अघि सारेका छन्।
त्यस्तै श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशप्रसाद श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन्।
संघका महासचिव विमलराज भट्टराईले समग्र व्यावसायिक हित हुने गरी संघको नेतृत्व चयन हुन आवश्यक रहेको बताए। सकेसम्म संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास अन्तिमसम्म जारी रहने भट्टराईको भनाइ छ।
बुटवल उद्योग वाणिज्य संघ निजी क्षेत्रको काठमाडौं बाहिरको ठूलो व्यावसायिक संस्था भएकाले यसको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।
अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ। संघमा एक हजार ७ सय ७८ व्यवसायी आवद्ध छन्।
असोज १०, २०८० बुधबार १३:४६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।