बजेट कार्यान्वयनमा सरकारले ध्यान दिएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

बजेट कार्यान्वयनमा सरकारले ध्यान दिएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत : कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताएका छन्।

उनले कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयमा सरकार लागि परेकाे भन्दै सुशासनको मार्गचित्र कोर्ने बाटाेमा सरकार अगाडि बढेकाे बताए।

बुधबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताएका हुन्।

‘सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ,’ उनले भने, ‘जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ।’

कानूनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताए।

खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिए।

‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन।‌ तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन’, उनले भने।

अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। साथै उनले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताए।

‘कर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन,’ उनले भने, ‘तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ।’

उनले सरकार सुशासन र भ्रष्टाचारका विषयमा काम गर्दै आएको भन्दै  विगतकाे लामाे र झन्झटिलो कानुनी प्रकियाभन्दा छाेटाे र छरिताे बनाउनेगरी अगाडि बढेकाे बताए।

असोज १०, २०८० बुधबार १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।