दीपेन्द्रले ज्ञानेन्द्रलाई उछिने, पारस र दिपेन्द्रको रेकर्ड कुशलले तोडे

दीपेन्द्रले ज्ञानेन्द्रलाई उछिने, पारस र दिपेन्द्रको रेकर्ड कुशलले तोडे

काठमाडौं : १९औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकाल्यो।

यसमा विश्व कीर्तिमान नै चारवटा बने भने अनेक आन्तरिक कीर्तिमान पनि बनेका छन्।

दीपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्र मल्लको नाममा रहेको टी–२० मा सर्वाधिक छक्का हान्ने खेलाडीको रेकर्ड तोडेका छन्।

अवकाश लिइसकेका ज्ञानेन्द्रले नेपालका लागि टी–२० मा ३६ वटा छक्का प्रहार गरेका थिए। त्यसको रेकर्ड तोड्दै दीपेन्द्रले ४२ वटा छक्का प्रहार गरेका हुन्।

दीपेन्द्रले मंगोलियाविरुद्धको बुधबारको खेलमा १० बलमा ८ छक्का प्रहार गर्दै ५२ रन बनाए। जुन, विश्व कीर्तिमान हो।

आजकै खेलमा दीपेन्द्रसिंह ऐरीको रेकर्ड कुशल मल्लले तोडेका छन्। दिपेन्द्रले यसअघि टी–२० मा मलेसियाविरुद्ध बनाएको ११० रनको रेकर्ड तोड्दै कुशलले १३७ रनको अविजित पारी खेले।

योसँगै उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन्। उनले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय खेलमा बनाएको १ सय २६ रनको कीर्तिमानसमेत तोडेका हुन्।

यस्तै कुशल मल्लले चौका र छक्काबाट सर्वाधिक रन जोड्ने नेपाली खेलाडी पारस खड्काको रेकर्ड तोडेका हुन्। यसअघि सिंगापुरविरुद्धको खेलमा पारसले चौका र छक्काबाट ८२ रन जोडेका थिए। त्यो रेकर्ड तोड्दै कुशलले चौका र छक्काबाट १०४ रन जोडेका हुन्।

यसबाहेक कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गर्दै कुनै पनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर बने।

गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए। आफ्नो उक्त कीर्तिमान तोडेका हुन्।

टि२० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए।

कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए। टी–२० आईमा कुनै पनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो।

यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए।

असोज १०, २०८० बुधबार ११:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।