ओलीको इच्छाविपरीत एमाले बागमतीमा पनि निर्वाचन हुँदै

ओलीको इच्छाविपरीत एमाले बागमतीमा पनि निर्वाचन हुँदै

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छाविपरीत एमालेको बागमती प्रदेश अधिवेशनमा पनि निर्वाचन हुने भएको छ।

सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनमा मंगलबारबन्दसत्र सम्पन्न भएपछि सहमतिको प्रयास भएको थियो। तर नेतृत्वमा सहमति नभएपछि बुधबारबाट निर्वाचन हुन लागेको हो।

सोमबार अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व टुंग्याउन निर्देशन दिएका थिए। उनले प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेजी हुनसक्ने धम्की दिएका थिए। यद्यपि उनले आफ्नो पार्टी लोकतान्त्रिक भएको समेत भन्न भ्याएका थिए।

बिहान ९ बजेबाट उम्मेदवार मनोनयनको कार्यक्रमको सूचि प्रदेश कमिटीले सार्वजनिक गरिसकेको छ। उम्मेदावारहरू मनोनयनको तयारी गरिहरेका छन्।

अध्यक्षको लागि हालसम्म मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशव पाण्डेले हालसम्म दाबी छाडेका छैनन्।

उपाध्यक्षको लागि मकवानपुरका अनन्तप्रसाद पौडेल, सुभाष चन्द्र ठकुरी, चितवनका दावा लामा, काठमाडौंका केशव पोखरेल, दोलखाका ईश्वरचन्द्र पोखरेल, काभ्रेका कुमार खकुरेल लगायतको उम्मेदवारी दिने चर्चा रहेको छ।

सचिवको लागि सचिवमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, हस्त पण्डित, चितवन बिजय सुवेदी, काठमाडौंकी रत्ना गुरुङलगायतको नाम चर्चामा रहेको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ।

यसअघि लुम्बिनी प्रदेश अधिवेशनमा पनि ओलीले सहमतिमा नेतृत्व टुंगो लगाउन दिर्देशन दिएका थिए। तर, त्यसो हुन सकेन। त्यसविपरीत लुम्बिनीमा पनि निर्वाचनबाटै प्रदेश कमिटी बनेको थियो।

असोज १०, २०८० बुधबार १०:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।