मंगोलियालाई नेपालको विश्व कीर्तिमानी लक्ष्य, तीन सय बढी रन बनाउने नेपाल पहिलो टोली

मंगोलियालाई नेपालको विश्व कीर्तिमानी लक्ष्य, तीन सय बढी रन बनाउने नेपाल पहिलो टोली

काठमाडौं : कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे।

यो टि-२० इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए।

कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए। योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टि-२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए। नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।

राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए। यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो।

दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा लगातार पाँच छक्का हानेका थिए। दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरे। दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे।

नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए। कुशल र रोहित दुवै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्।

२०१९ मा ज्ञानेन्द्र मल्लको मलेसियाविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन्।

असोज १०, २०८० बुधबार ०८:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।