उकेरा टप फाइभ : लुम्बिनीमा गाडी मर्मतमा मात्र १ करोड ३५ लाख खर्चदेखि सुदर्शन राजको आँखामा नेपालको शिक्षा पत्रकारितासम्म

उकेरा टप फाइभ : लुम्बिनीमा गाडी मर्मतमा मात्र १ करोड ३५ लाख खर्चदेखि सुदर्शन राजको आँखामा नेपालको शिक्षा पत्रकारितासम्म

काठमाडौं : मंगलबार साताव्यापी चीन भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय भेटघाटालाई निरन्तरता दिए। यसदिन उनले त्यहाँ कृषि विज्ञानको एक ऐकेडेमीको अवलोकन भ्रमण गरे भने साँझपख चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोका सदस्यसँग भेटघाट गरे।

मंगलबार नै एमालेको बागमती प्रदेश अधिवेशन जारी नै रह्यो। मंगलबारको बैठकमा समूह विभाजन भयो र प्रतिवेदनमाथि समूहका नेताहरूले आ–आफ्ना धारणा राखेपछि सुझावसहित प्रतिवेदन पारित भयो। यस्तै प्रदेशका पदाधिकारीका लागि निर्वाचन कार्यतालिका बुधबार हुने र मतदान बिहीबार हुनेछ।

मंगलबार नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म आन्दोनल गरे। चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

राहत शिक्षक केन्द्रीय समितिको आन्दोलन मंगलबार पनि जारी नै रह्यो। सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने भनेपछि राहत शिक्षकहरूले शतप्रतिशत शिक्षकलाई स्थायी गर्नुपर्ने मागसहित आन्दोलनमा छन्। सोमबार सुतेर आन्दोलन गरेका उनीहरूले मंगलबार सिठी फुकेर आन्दोलन गरेका छन्।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान लुम्बिनी प्रदेश सभाले गएको ४ वर्षमा चार पांग्रे सवारीसाधन मर्मतका नाममा मात्रै १ करोड ३५ लाख बढी रकम खर्च गरेको समाचार प्रकाशित गर्यो। गत ४ आर्थिक वर्षमा मर्मतका नाममा गरिएको खर्चले संघीयता प्रति मानिसको वितृष्णा झनै बढाएको छ।
पूरा समाचारः संघीयता बदनाम गराउने अर्को नमुनाः ४ वर्षमा लुम्बिनी प्रदेश सभाका गाडी मर्मतमा मात्र १ करोड ३५ लाख बढी खर्च

दिउँसो उकेराले एमाले बागमती प्रदेशको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा विभिन्न दलमाथि लगाइएका आरोप र त्यसबारेका धारणाको समाचार लेख्यो। प्रतिवेदनमा नेपाली कांग्रेसलाई बाह्य शक्तिसँग साँठगाँठ गरेर संशयकारी भूमिका निर्वाह गर्ने, राष्ट्रियताको सवालमा ढुलमुले चरित्र रहेको र पुँजीपति वर्गको रक्षक रहेको उल्लेख गरेको छ।
पूरा समाचारः एमालेको नजरमा रास्वपाः समस्याको उठानमा सफल, तर समाधानको विकल्प दिन नसक्ने शक्ति

साँझपख उकेराले नियमित स्तम्भ चौथो अंग प्रस्तुत गर्यो। जसमा शिक्षा पत्रकार एवं सुदर्शन राज घिमिरेको अनुभव समेट्यौँ। उनले आफूले गरेको पत्रकारितको अनुभव र अहिलेको पत्रकारितको शुक्ष्म विश्लेषण गरेका छन्। उनले अहिलेको बिट पत्रकारिता समाचार लुकाउन उद्दत भएको टिप्पणी गरेका छन्।
पूरा समाचारः चौथो अंगः शिक्षकले उठाएका नाजायज मागमा बहसै भएन, भीडको पछि दौडेर शिक्षा पत्रकारले आँखा चिम्लिए

साँझपख नै उकेराले आफूहरूमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अहिले आन्दोलनमा उत्रिएको समाचार लेख्यो। आन्दोलनले बिरामीको उपचार प्रभावित भएको छ नै, चिकित्सकका कतिपय संघसंस्थाले आईसीयू, ओपीडी, इमरजेन्सी लगायतका सेवा नै ठप्प पार्नेसम्मका विज्ञप्ति निकालेर असंवेदनशील देखिएका छन्।
पूरा समाचारः आईसीयू र इमर्जेन्सी सेवा रोकेर आन्दोलनमा चिकित्सक

यस्तै, मंगलबार राति नै उकेराले कैलाश मानसरोवर यात्राको सातौं भाग प्रस्तुत गर्यो। जसमा मानसरोवरको तालको छेउको बसाइबारे समेटिएको छ। सरोवरमा पहिला भारतीय नागरिकहरू स्वेच्छिक मृत्युका लागि आउने गरेको भएपनि अहिले भने त्यहाँ गएर नुहाउन नपाइने नियम रहेछ। त्यहाँ गएर नुहाउँदा ५० हजार युयान जरिवाना तोकिएको छ।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा–७ः पहिला मानसरोवरमा डुबेर स्वेच्छिक मृत्युवरण, अहिले सरोवरभित्र नुहाए १० लाख जरिवाना

असोज ९, २०८० मंगलबार २२:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।