क्यानले चैतमा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने

क्यानले चैतमा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आगामी चैतमा नेपाल प्रिमियर लिग एनपीएल गर्ने भएको छ।

नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी-२० फरम्याटमा नेपाल प्रिमियर लिग एनपीएल गर्ने निर्णय गरेको हो।

बैठकले त्यसका लागि आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ। यसपटक क्यान आफैँले लिग सञ्चालन गर्ने भएको छ।

गतवर्ष गरेको लिगमा फिक्सिङ विवाद भएपछि यसपटक क्यान आफैँले लिग आयोजना गर्न लागेको हो।

यस्तै बैठकले अन्य क्रिकेट लिग विदेशी खेलाडीहरूविना डोमेस्टिक क्रिकेट लिगको रूपमा सञ्चालनको अनुमति दिने निर्णयसमेत बोर्डले गरेको छ।

एभरेष्ट प्रिमियर लिग ईपीएलबाट विदेशी खेलाडीसहितको लिग सञ्चालनका लागि आएको प्रस्तावमा क्यान बैठकले नेपाल प्रिमियर लिग एनपीएल सञ्चालनपछि बस्ने बोर्ड बैठकमा छलफल गरि प्रतियोगिता आयोजना गर्न दिने सम्बन्धमा निर्णय गरिने भनिएको छ।

यसअघि ईपीएलका सञ्चालक आमिर अख्तरले लिग सञ्चालन गर्न नदिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। तर पछि क्यानसँगको सहमतिमा उनले मुद्दा फिर्ता लिएका थिए।

असोज ९, २०८० मंगलबार २०:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।