एमालेको नजरमा रास्वपा : समस्याको उठानमा सफल, तर समाधानको विकल्प दिन नसक्ने शक्ति

एमालेको नजरमा रास्वपा : समस्याको उठानमा सफल, तर समाधानको विकल्प दिन नसक्ने शक्ति

काठमाडौं : एमाले बागमती प्रदेशको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई बाह्य शक्तिसँग साँठगाँठ गरेर संशयकारी भूमिका निर्वाह गर्ने भनेर व्याख्या गरिएको छ।

बागमती प्रदेशको अधिवेशनमा वितरण गरिएको प्रतिवेदनमा कांग्रेस राष्ट्रियताको सवालमा ढुलमुले चरित्र रहेको र पुँजीपति वर्गको रक्षक रहेको उल्लेख गरेको छ।

प्रतिवेदनमा एमालेलाई लोकतान्त्रिक आन्दोलनको अग्रणी दस्ता भएको दाबी गरेको छ।

एमालेले जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्ने पार्टी भएको र विभाजित कम्युनिष्टहरूलाई एउटै मुलधारमा उभ्याउन सफल र नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह रहेको दाबी गरेको छ।

प्रतिवेदनमा माओवादी केन्द्रलाई एमालेले राजनीतिमा सधैँ अस्थिर, अस्पस्ट र अवसरवादी पार्टी भन्दै सत्ताको लागि जे पनि गर्ने प्रवृत्ती भरहेको पार्टीको रूपमा व्याख्या गरेको छ।

वैचारिक र सैद्धान्तिक क्षेत्रमा माओवादी ढुलमुले पात्र र दक्षिणपन्थको यात्रा तय गरेको आरोप लगाएको छ। नेपालमा जातिय अतिवादको विजारोपण माओवादीले गरेको एमालेको आरोप छ।

प्रतिवेदनमा एकिकृत समाजवादीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा देशी-विदेशी प्रतिक्रियावादी राजनीतिक पार्टीलाई सेवा गरेर दक्षिणपन्थी गठबन्धनको सेवामा नतमस्तक भएको र एमाले विरोधी मोर्चाबन्दी गरिरहेको उल्लेख गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक र वैचारिक दृष्टिकोणविहीन, द्विधाग्रस्त सांगठनिक चिन्तन अर्थ राजनीतिक दृष्टिकोणमा अस्पस्ट हुँदा-हुँदै उदारवादी पुँजीवादलाई आर्थिक रूपमा स्वीकार गर्ने पार्टी रहेको उल्लेख गरेको छ।

रास्वपा राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पस्ट रहेको, तत्कालीन लाभका लागि उत्तेजक कार्ड फ्याक्ने, स्थापित मूलधारको पार्टी विरुद्ध गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीविरुद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने, असम्भव विषयमा राजनीतिक जनमत बनाउने र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा उल्लेख गरेको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी भारतीय हिन्दुवादीहरूको वैचारिक नेतृत्वलाई स्विकार गर्ने सामन्ती, धर्मलाई राजनीतिक हतियार बनाउने पार्टीको रूपमा उल्लेख गरेको छ।

असोज ९, २०८० मंगलबार १६:३६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।