काठमाडौंमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने

काठमाडौंमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने

काठमाडौं : काठमाडौंमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको छ। 

सोमबार बौद्ध व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ गते काठमाडौंस्थित तारागाउँ म्युजियमको खुला चौरमा महाभिषेक हुने जानकारी दिएको हो।

महाभिषेक कार्यक्रममा बुद्ध धर्मका विख्यात गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थिति रहने संघले जनाएको छ। 

ससंघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्वजगत र प्राणीमा सद्भाव बढाउने बताए। 

उनले भने,‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक उर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ।’ 

उनले करूणााका प्रतिमूर्ति मानिने ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेद्वारा प्रदान गरिने महाभिषेकले सम्पूर्ण मानव समुदायलाई सकारात्मक प्रेरणा दिने बताए।

सोही संघका धर्मधर नारायण प्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समस्या यस्ता गतिविधीले शान्तिको मार्ग देखाउने बताए। 

रिजालले भने, ‘साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ। यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त छ। गुरूलाई विशेष आग्रह गरिएकोले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो। यो कार्यक्रम सबैका लागि खुल्ला छ, सहभागी हुन सक्नुहुनेछ।’

कार्यक्रममा इन्टरनेशनल बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्परा र गुरूको बारेमा जानकारी दिए।

उनले गुरू साक्या समुदायको ४१ औँ सिद्ध र सुयोग्य रहेकाले यो महाभिषेकमा सहभागी हुनु आफैँमा सूवर्ण अवसर रहेको बताए। 

विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूर्ण मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

यस महाभिषेकमा हजारौं सर्वसाधारणको उपस्थिति हुने र नेपालबाहिरका बौद्ध पथमार्गीहरुको समेत सहभागिता हुने आयोजकको अपेक्षा छ।

९ असोज, २०८०, १४:४७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।