चलचित्र ‘परदेशी–२’ सेन्सर पास
काठमाडौं : दशैंको अवसरमा यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’ ले प्रदर्शन अनुमति प्राप्त गरेको छ।
केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर चलचित्र ‘परदेशी–२’ लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो।
प्रदर्शनको झण्डै ३ साताअघि अस्ति आइतवार साँझ चलचित्रको सेन्सर गराइएको थियो। सेन्सर बोर्डले चलचित्रमा समावेश गरिएका कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन।
सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेको निर्माण पक्षको दावि छ। मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए।
‘देशको जल्दोबल्दो कथा रहेछ। प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ। चलचित्र हेरेर मज्जा आयो। यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो।’
चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन्।सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए।
चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ।
मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै असोज १३ गते काठमाडौं फर्किने बताइएको छ। युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन्।
प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय रहेको छ।
गायक तथा संगितकार प्रकाश सपूतको डेब्यु चलचित्र भएकाेले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ।
असोज ९, २०८० मंगलबार १४:२७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।