केकीको मौलिक कथामा अभिनय गर्ने रहर चलचित्र ‘परदेशी २’ ले पूरा गरिदियो

केकीको मौलिक कथामा अभिनय गर्ने रहर चलचित्र ‘परदेशी २’ ले पूरा गरिदियो

काठमाडौं : दशैंको अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेल प्रचार प्रसारका लागि  देश दौडाहामा छ। 

फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिम दुई दिनदेखि नेपालगञ्ज हुँदै प्रचार प्रसारका लागि मंगलबार पोखरा आउँदैछन्। 

देशभरका बम्पर व्यापार गर्ने फिल्म हलहरुको अनुगमन गरिरहेको चलचित्र टिमले दर्शक र पत्रकारहरुसँग पनि सात्क्षातकार गरिरहेको छ। 

नेपालगञ्ज पुगेर फिल्मका मूख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनित पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए।

उनले भने, ‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन। पहिलो फिल्म भएकोले उत्साहसँगै थोरै डर पनि लागिरहेको छ।’

त्यस्तै अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन्। मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन्।

‘यो फिल्मले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो। यो हामि सबैको कथा समेटिएको फिल्म हो। त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’ उनले भनिन्।

फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए। 

संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मूख्य सार उनले सुनाए।साक्षात्कार पछि ‘परदेशी २’ टिमले फिल्मको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेको थियो। 

फिल्मको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो। 

पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे। । 

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। 

फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन्। बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।
 

असोज ९, २०८० मंगलबार १३:२७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।