एसियाडमा सहभागि हुन सन्दीप र सागर चीन उडे
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा सहभागि हुन चीन प्रस्थान गरेका छन्।
मंगलबार मध्यान्ह १२ बजेको उडानमा उनी चीन गएका हुन्। एसियाडका लागि नेपाली क्रिकेट टोली आइतबार नै चीन गएको भएपनि सन्दीपले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसियाडमा सहभागि हुन नसक्ने बताएका थिए।
नेपाल क्रिकेट संघका सचिव पारस खाड्काले मनाएपछि उनी मंगलबार चीन जान तयार भएका थिए।
जिल्ला अदालत काठमाडौंले उनि विरुद्धको मुद्दाको फैसला केन्द्रित सुनुवाइ न्यायाधीश अभाव देखाउँदै स्थगन गरेको थियो।
सन्दीपसँगै सागर ढकाल पनि चीन प्रस्थान गरेका छन्। स्पिनर ललित नारायण राजवंशी टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि उनको स्थानमा ढकाल चीन गएका हुन्।
भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन्।
जारी १९ औं एसियाली खेलकुदमा समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ।
क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन्।
असोज ९, २०८० मंगलबार १२:३८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।