इन्द्रजात्रा शुरु, भगिनी सम्बन्ध भएका विदेशी पाहुना आउँदै

इन्द्रजात्रा शुरु, भगिनी सम्बन्ध भएका विदेशी पाहुना आउँदै

काठमाडौं : इन्द्रजात्रा आज (मंगलबार) बाट विधिवत रुपमा सुरु भएको छ। आज बिहान १०:३७ बजे हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ। 

हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ।

परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको हो। 

भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। 

धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि सुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइनेछ।

यसैबीच काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा पनि विदेशी पाहुना सहभागी हुने जनाएको छ। 

सोमबार पत्रकार सम्मेलन गर्दे महानगरले भगिनी सम्बन्ध भएका अमेरिका, जापान लगायतका देशका २० वटा नगरका प्रमुखहरुलाई आमन्त्ररण गरेको जनाएको हो। 

इन्द्रजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन ‘इन्द्रध्वज पतन’ गरी जात्रा समापन गरिन्छ।

असोज ९, २०८० मंगलबार १२:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।