पारस र चतुरले मनाएपछि सन्दीप आज एसियाडका लागि चीन जाने
काठमाडौं : नेपाली क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड)मा सहभागिता जनाउन आज (मंगलबार) चीन जाने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का नव निर्वाचित सचिव पारस खड्का र अध्यक्ष चतुर बहादुर चन्दले मनाएपछि सन्दीप एसियाडका लागि चीन जाने भएका हुन्।
एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेल्नका लागि नेपाली टिम आइतबार नै चीन पुगिसकेको छ। उनीविरुद्धको बलात्कार मुद्दाको आइतबार पेसी परेका कारण सन्दीप भने टिमसँग जान पाएका थिएनन्।
यसपछि उनी सोमबार चीन जाने बताइए पनि मानसिक रुपमा कमजोर भएको भन्दै सन्दीप चीन गएका थिएनन्। तर सोमबार राति पारस र चतुरले भेटेपछि उनी चीन जान तयार भएका हुन्।
सन्दीपसँगै अर्का स्पिनर सागर ढकाल पनि आज दिउँसो चीन जाने क्यानले जनाएको छ। सागर ढकाल घाइते स्पिनर ललित नारायण राजवंशीको स्थानमा चीन जान लागेका हुन्।
एसियाली खेलकुदमा नेपालले समूह चरणमा बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ।
यसपछि क्वाटरफाइनलमा पुगे नेपालको भेट बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका मध्येका टेस्ट टिमसँग हुनेछ।
असोज ९, २०८० मंगलबार ०९:१३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।