कार्यकर्ता धम्क्याएर लोकतान्त्रिक पार्टीको धक्कु

कार्यकर्ता धम्क्याएर लोकतान्त्रिक पार्टीको धक्कु

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सुरू भयो। अधिवेशनस्थलमा एमाले नेता तथा कार्यकर्ताको ठूलै भीड लाग्यो।

शीर्ष नेताहरू मञ्च छेउकै अगाडिको लहरमा बसे अनि कार्यक्रम सुरु भयो।

एमाले नेताहरूले एकपछि अर्को गर्दै अधिवेशनलाई सम्बोधन गर्दै गए। सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले सुरूमै प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज हुनसक्ने चेतावनी दिइहाले।

यद्यपि एमाले लोकतान्त्रिक पार्टी भएको तर्क भने छाडेनन्।

‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो,’ उनले भने, ‘यहाँ कसैले पनि म चुनाव लड्छु भन्छ भने पाउँछ। लड्नुस्, लड्न दिनुहोस्। स्वस्थ ढङ्गले लड्नुहोस्। प्यानल बनाइएको थाहा भयो भने उम्मेदवारी खारेजी हुनसक्छ।’

चुनावपछि समेत मेरो प्यानल, मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनिति गर्न नपाइने भन्दै ओलीले निर्देशन दिए।

उत्साहित अधिवेशनमा सहभागी अधिकांश कार्यकर्ताले ओलीको यो भाषणपछि नाक खुम्च्याए।

अध्यक्ष ओलीले मिल्नु सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास भएको भन्दै प्रतिनिधिहरूलाई एक मतका साथ एक ढिक्का हुन निर्देशन दिए।

जुनसुकै चुनाव होस् चुनाव भनेको प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास हो। विशेषगरी राजनीतिक दलका आन्तरिक चुनावमा विभिन्न समूह, विभिन्न गुट तथा उपगुट बन्न सक्छन्।

विभिन्न प्यानल बनाएर आफ्नो पक्षमा मत हात पार्ने होड हुन्छ नै। यसलाई लोकतान्त्रिक अभ्यास नै मानिन्छ।

आन्तरिक रूपमा नेतृत्व चयन हुने विधि तथा तरिकाले राजनीतिक दलभित्र हुने आन्तरिक प्रजातन्त्रको अभ्यास अवस्था र त्यो दलले लिएको नीतिको समेत संकेत गर्छ।

आन्तरिक लोकतान्त्रिक अभ्यासले दलभित्रको आन्तरिक स्वतन्त्रतालाई झल्काउँछ। तर, प्रतिष्पर्धाबाट नै निषेध गर्दा त्यो दलको आन्तरिक प्रजातन्त्र पनि कमजोर बन्ने जोखिम हुन्छ।

तर, अध्यक्ष ओलीले भने त्यस्तो आन्तरिक लोकतान्त्रिक अभ्यास नै संकुचित हुनेगरी बागमती प्रदेशको नेतृत्व चयन हुने अघिल्लो दिन आफू अनुकुल नभए प्रतिष्पर्धाबाटै बञ्चित गराउने धम्की दिए।

ओली यतिमा मात्रै रोकिएनन्, एमाले फुटाउने प्रयास भइरहेको भन्दै पार्टी फुटाउने प्रयास चकनाचुर बनाउने तर्कसमेत गरे।

‘फाटो बनाउने प्रयास अनेक ढंगले भइरहेको छ,’ ओलीले भने, ‘एमालेलाई फेरि पनि फुटाउँछौँ, फेरि पनि विभाजन गर्छौँ भन्ने यो प्रयास नेकपा एमालेले चकनाचुर पार्नेछ। धुलोपीठो पार्नेछ।’

यसअघि भदौमा बुटवलमा भएको लुम्बिनी प्रदेश अधिवेशनमा पनि ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए।

त्यसो नभए आफूले भनेको कार्याकर्तालाई नियुक्त गर्नु भन्दै प्रदेश इन्चार्ज पद्मा अर्याललाई  चिर्कटोसमेत थमाइदिएका थिए। तर, अर्यालले मानिन् र त्यहाँका प्रतिनिधि निर्वाचनबाटै चुनिए।

इतिहास बोकेका नेताभन्दा ओलीकै तस्बिर हावी
हुन त ओली अध्यक्ष भएपछि उनी नै एमालेको केन्द्रमा उनी रहने नै भए।

पार्टीका विभिन्न कार्यक्रममा राखिएका ब्यानरहरूमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीलाई सानो फोटामा राखिएको हुन्छ भने ओलीको फोटा बडेमानका बनाएको देखिरहेकै छ।

बागमती प्रदेश अधिवेशनमा पनि फरक दृश्य देखिएनन्। अधिवेशनका ब्यानरको फोटाहरूमा ओली नै हावी थिए।

गेटबाट छिर्दा नै पुष्पलाल, मदन भण्डारी, मनमोहनको भन्दा ओलीको फोटालाई प्राथमिकता दिएको देखिन्थ्यो। कतै पूर्ण कदको क कतै आधा कदको।

त्यसो त मुख्य मञ्चको ब्यानर र दायाँबायाँ ओलीको पूर्ण कदको फोटो थियो। त्यहिमाथि लेखिएको थियो। ‘समृद्ध नेपाल सुखी नेपाली’।

ओलीको फोटोभन्दा माथिको ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको साना फोटा राखिएको थियो।

बायाँतर्फ पनि यी तीन जनाको फोटो थियो तर ओलीको भन्दा कयौं गुणा साना।

असोज ८, २०८० सोमबार २०:५२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।