चलचित्र ‘नाङ्गो गाउँ’ को सिक्वेल बन्ने
काठमाडौं : तीजको अवसर पारेर गत भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने भएको छ।
सोमबार निर्देशक तथा लेखक दिपेन्द्र लामाले फिल्मको सिक्वेल निर्माणको घोषणा गरेका छन्।
राजनीतिक बिषयवस्तुमा निर्मामा गरिएको चलचित्र ‘नाङ्गो गाउँ’ले हिटको ट्याग पाएपछि निर्देशक लामा र निर्माता हिमाल कडरियाले सिक्वेल बनाउने घोषणा गरेका हुन्।
उनीहरुले सोमबार नै फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन्। निर्देशक लामाका अनुसार अब ‘नाङ्गो गाउँ २’ शीर्षक रहने छ।
निर्देशक लामाले अभिनेता दयाहाङ राईले निर्वाह गरेको ‘पासाङ’ गाउँ फर्किने कथामा सिक्वेल बन्न लागेको जानकारी दिए।
‘अहिले कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा कथाको मध्यान्तर थियो। लेख्दै जाँदा पाँच घन्टाको फिल्म बन्ने देखिएपछि कथालाई दुई भागमा ब्रेक गरिएको हो,’ उनले भने,‘अब ’नाङ्गो गाउँ–२’मा पासाङ पात्र गाउँ फर्केर जरी लामा विरुद्ध संघर्ष गर्नेछ। र, आफ्नो हारको प्रतिशोध लिनेछ।’
उनका अनुसार त्यसअघि ‘नाङ्गो गाउँ’ टिमले एउटा कमेडी फिल्म निर्माण गर्नेछ। त्यो ‘फुल फ्लेज्ड कमेडी’ जनराको पहिलो फिल्म हुने निर्माण टिमले जनाएको छ।
उनले जरी (शिशिर वाङ्देल) को आतंकबाट वाक्क भएपछि गाउँलेहरुले काठमाडौं गएर पासाङलाई गाउँमा फर्काउने र जरीको खराब गतिविधिलाई रोक्न पासाङको संघर्ष दोस्रो भागमा रहने बताएका छन्।
यस फिल्ममा ‘नाङ्गो गाउँ’कै कलाकाहरु दोहोरिने छन्। फिल्ममा दयाहाङ राई,मिरुना मगर,शिशिर वाङ्देल,कार्म,साम्राज्ञी राज्यलक्ष्मी शाह,बुद्धि तामाङको मुख्य भुमिका रहेको छ।
असोज ८, २०८० सोमबार १८:०७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।