२४ वर्षीया मृगौलापीडित निसाको याचना- ‘परिवारले हेर्दैनन्, माइती छैनन्, उपचार पाए बाँच्थे कि!’
सुर्खेत : जिल्लाको भेरीगंगा नगरपालिका–१० मदानेचौरकी २४ वर्षीया निसा राय गिरी विगत एक वर्षदेखि मृगौलाको पत्थरीका कारण थला परेकी छन्।
मृगौलामा भएको पत्थरीले इन्फेक्सन फैलिएपछि उनको एउटा मृगौलाले काम गर्न छोडेको छ। उपचारका लागि गाउँलेसँग सहयोग उठाएर भारतसम्म पुगेकी उनले रकम अभावकै कारण पूरा उपचार गर्न सकिनन्।
‘गाउँलेसँग सरसापटी र सहयोग मागेर भारतसम्म उपचार गर्न त गएँ। तर, त्यहाँ पनि दुई लाख बढी भारु पैसा लाग्ने भएपछि फर्किएर आएँ’, निसाले भनिन्।
प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न आएकी उनलाई डाक्टरले काठमाडौं जान सुझाव दिएको पनि महिनौं भइसक्यो। तर, पैसाको जोहो नहुँदा उनी जान पाएकी छैनन्।
परिवारमा उनका श्रीमान् गोविन्द गिरी र बहिनी मात्रै छन्। गोविन्दको घर जाजरकोट भए पनि परिवारले निसालाई बुहारी स्वीकारेका छैनन्, कारण हो जात।
‘मृगौलामा पत्थरीको समस्या त पहिलेदेखि नै थियो। तर, इन्फेक्सन भएर विगत एक वर्षदेखि म थलिएकी छु। डाक्टरले एउटा मृगौला ड्यामेज भयो भन्नुभाछ,’ उनले उकेरासँग आफ्नो पीडा सुनाइन्, ‘काठमाडौं जानुपर्छ भनेर डाक्टरले भनेका छन्। आफूसँग एक सुक्को पनि पैसा छैन। श्रीमानको पनि केही कमाइ छैन। परिवारले सहयोग गदैनन्। माइती छैनन्।’
२०५३ सालतिर निसाका बुवा श्रीलाल राय र आमा सुमिना राय बिराटनगरबाट सुर्खेतको भेरीगंगा आएका थिए। बुवाआमाको हर्नियाँ र आमाको कालो जण्डिसका रोगका कारण उपचार नपाएरै चार वर्षअघि मृत्यु भयो।
तीन बहिनी, एक भाइ मध्येकी निसा माइली हुन्। दिदीको विवाह भयो। भाइ भारत गएपछि अहिले उनकी बहिनी पनि उनकै सहारामा छिन्।
निसाले अहिलेसम्म नागरिकता नै पाउन सकेकी छैनन्। बुवाआमाको पनि नागरिकता नहुँदा उनको पनि अहिलेसम्म बन्न सकेको छैन। जसकारण वडा र पालिकाबाट पाउने सेवाबाटसमेत बञ्चित भइरहेकी छन्।
‘हामी नजन्मिदै बुवाआमा यहाँ आउनुभएको रे। उहाँहरूसँग पनि नागरिकता थिएन। साक्षी राखेर हामीहरूको जन्मदर्ता त बन्यो। तर, बुवाआमाको नागरिकता नहुँदा हाम्रो पनि बन्न सकेको छैन,’ निसाले भनिन्, ‘बुवाआमा पनि नागरिकता नपाएरै बितिहाल्नुभयो। यहाँ हाम्रो आफ्नो मान्छे कोही छैन। पुरानो थातथलो कहाँ हो? भन्ने नि थाहा छैन। बिराटनगर हामी गएका छैनौं।’
बुवाआमाको नागरिकता नहुँदा उनको नागरिकता बनाउन र स्थानीय तहबाट पाउने सुविधा पनि दिन नसकेको भेरीगंगा वडा नम्बर १० का वडाअध्यक्ष बिरबहादुर बस्नेतले बताए।
‘बुवाआमाको नागरिकता छैन। यता केटा पक्षका मानिसहरू पनि कोही आउँदैनन्। सानी नानी दुर्गा राय जो कक्षा ८ मा पढ्दैछन्। मेरै संरक्षणमा जन्मदर्ता बनाइदिएको छु,’ वडा अध्यक्ष बस्नेतले भने, ‘नागरिकता नभए वडा र नगरबाट केही सहयोग गर्न पनि सकिएको छैन।’
वडा अध्यक्ष बस्नेतकाअनुसार निसाको ऐलानी जग्गामा घरबास मात्रै छ। उनीहरूलाई साँझ बिहानको खाना खान पनि समस्या हुने गरेको छ।
निसाले आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी छन्। उनले उपचार गर्ने पैसा नहुँदा ज्यान फाल्नुपर्ने बाध्यता रहेको भन्दै बिलौना गरेकी हुन्।
‘सहयोगी दाताहरूले सहयोग गरेर उपचार पाए बाँच्थे की। नभए त यही रोगबाट थलिएर मर्छु होला,’ निसाले भनिन्, ‘नेताहरू चुनावका बेला भोट माग्दै दैलोमा आउँछन्। तर, अहिले मेरो उपचारका लागि सहयोग माग्दा रित्तो हात फकाउँछन्।’
असोज ८, २०८० सोमबार १७:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।