नौ सदस्यीय भयो कोशीको मन्त्रीपरिषद्, को-को थपिए?

नौ सदस्यीय भयो कोशीको मन्त्रीपरिषद्, को-को थपिए?

विराटनगर : कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन्। सोमबार मुख्यमन्त्री कार्कीले दुई जना मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन्।

बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्।

सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ। हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक भदौ २२ गते  नियुक्त भएका थिए।

यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्युत भए।

सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका थिए।

उनले संवैधानिक व्यवस्था अनुसार यही असोज २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ। 

केन्द्रमा सत्ता गठबन्धनसँग नजिक हुँदै गएको राप्रपाले एमाले दलका नेता कार्कीलाई सहयोग गर्छ कि गर्दैन भन्ने अन्योल कायम छ। यसो हुदा अझै पनि उनले विस्वासको मत पाउने निश्चित भइसकेको छैन। 

कोशी प्रदेशमा एमालेको सत्ता गठबन्धन दल कांग्रेस, माओवादी, एस तथा जसपासँग राम्रो सम्बन्ध छैन। 

यसअघि नै प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीका लागि पहिचानको पक्ष लिँदै गएका साना दल फकाउन झनै सकस बन्ने देखिन्छ।

असोज ८, २०८० सोमबार १६:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।