साफ यू-१९ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले स्तब्ध पार्दै नेपाल सेमिफाइनलमा
काठमाडौं : आयोजक नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ गोलले पराजित गर्दै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपालको जितमा समीर तामाङले दुई गोल गर्दा प्रशान्त लक्षम र निराजन धामीले एक-एक गोल गरे।
खेलको १६औं मिनेटमा नेपाललाई अग्रता दिलाउन प्रशान्त लक्षमले पहिलो गोल गरे। २९औं मिनेटमा समीर तामाङले टिमका लागि दोस्रो र व्यक्तिगत गोल गरे।
तर, त्यसपछिको खेल तनावपूर्ण रह्यो। त्यसको केहीबेरपछि ३५औं मिनेटमा मैदानमै दुई खेलाडीबीच विवाद र झगडा भएपछि रेफ्रिले नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसानलाई रेडकार्ड दिए।
दोस्रो हाफमा माल्दिभ्सले एक र नेपालले थप दुई गोल गरे। माल्दिभ्सका लागि खेलको ५८औं मिनेटमा आदम लयानले सात्वना गोल गर्दै २-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको ८८औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दा खेल ३-१को स्थितिमा पुग्यो। इन्जुरी समयमा समीर तामाङले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल नेपालले ४-१ गोलले जित्यो।
नेपाल रहेको समूहमा भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बनेको हो।
असोज ८, २०८० सोमबार १५:३४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।