मलङ्गवाको निषेधाज्ञा दिउँसोलाई हट्यो, रातमा यथावत्

मलङ्गवाको निषेधाज्ञा दिउँसोलाई हट्यो, रातमा यथावत्

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ। रातिलाई भने  निषेधाज्ञा यथावतै राखिएको छ।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा सोमबार बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो।

गणेश चतुर्थीको मूर्ति बिर्सजन गर्न जाने क्रममा मलङ्गवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

बिहीबार रातिदेखि अशान्त बनेको मलङ्गवामा गएरातिदेखि अवस्था समान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलङ्गवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ।

निषेधाज्ञा हटाइए पनि सोमबार मलङ्गवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्ण रुपमा बन्द छन्।

असोज ८, २०८० सोमबार १३:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।