नेपालमा कृषि, पर्यटन र पूर्वाधारमा लगानी भित्र्याउन चीनमा छलफल, चिनिया व्यवसायी सकारात्मक
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।
चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा उनले यस्तो बताएका हुन्।
समिटलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा लगानीका क्षेत्रहरू धेरै रहेकाले निर्धक्क नेपालमा लगानी गर्न चिनिया ब्यवसायीहरुलाई आग्रह गरेका थिए।
समिटमा चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबिचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताएका थिए।
नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले बताएका थिए।
उनले चीन नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका थिए।
समिटमा नेपाल उद्योग महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताएका थिए। नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धन लागि समिट महत्त्वपूर्ण रहने ढकालले बताएका थिए।
उनले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँदै पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवल कार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना रहेको बताएका थिए।
विदेशी लगानी सहजीकरणको लागि महासङ्घमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको बताउँदै उनले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको बताएका थिए।
सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगांगले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउँदै द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्त्वपूर्ण हुने बताएका थिए।
नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग गर्ने उनले बताए। महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे आफ्नो प्रस्तुति दिएका थिए।
समिटमा १ सय २० चिनिया कम्पनीका प्रतिनिधि सहभागी थिए। नेपालको तर्फबाट महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासङ्घका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायी सहभागी थिए।
समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागी थिए।
असोज ७, २०८० आइतबार २३:०४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।