केन्द्रीय समितिमा विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ?

केन्द्रीय समितिमा विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्ने बताएका छन्।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दावी गर्दै उनले पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए। 

‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो विकासको खाका कस्तो हुने हो? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,’ उनले भने, ‘देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन्। यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ।’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे। 

‘अब अर्काे कार्यसमितिको प्रमुख एजेण्डा नै यिनै अर्थतन्त्र हुनुपर्छ। एक दिन दुई दिन आर्थिक मुद्धामा छलफल हुनुपर्छ। विकास निर्माणका कामहरु ठप्प भएका छन्। उद्योगधन्दाहरु ठप्प छन्। उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ,’ उनले भने।

नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने र  रोजगारको वातावरण सिर्जना गर्ने मुद्धामा छलफल गर्नुपर्नेमा उनको जोड थियो।

उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे। 

‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिदैछन्। सर्वाेच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ। नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो? त्यसका आधारशीला के हुन्? यो पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन? हामीले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे। 

असोज ७, २०८० आइतबार १२:११:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।