राम्रो अभ्यास गरेका छौँ, एसियाडमा मेडल जित्ने लक्ष्य छ : कप्तान पौडेल

राम्रो अभ्यास गरेका छौँ, एसियाडमा मेडल जित्ने लक्ष्य छ : कप्तान पौडेल

काठमाडौं : एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली क्रिकेट टिम आज (आइतबार) चीन जाँदैछ। चीन जाने नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ।

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र आउँदो १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ। 

बिदाई कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताए ।

उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए । उनले भने, ‘राम्रो अभ्यास गरेका छौँ। हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरु रेडि छौँ। आउने दिनमा एकदमै राम्रो गर्नेछौँ।’

खेलाडीहरुलाई बिदाई गर्दै नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताए। 

अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै टोलीलाई जितको शुभकामना दिए।

कार्यक्रममा बोल्दै क्यानका नवनिर्वाचित सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताए। 

उनले कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भुमिका खेलेको बताए। 

चीन जाने नेपाली टोलीमा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा रहेका छन्। 

नेपालले स्पिनर ललित नारायण राजवंशीको घाइते भएपछि उनको स्थानमा सागर ढकाललाई टिममा समेटेको छ।

असोज ७, २०८० आइतबार ११:३८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।