न्यायाधीश अभावका कारण आज पनि सन्दीपविरूद्धको बलात्कार मुद्दाको सुनुवाइ नहुने
काठमाडौं : न्यायाधीश अभावका कारण क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि न्यायाधीश अभाव कै कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।
काठमाडौ. जिल्ला अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँटमा मात्रै इजलास बस्नेछ। न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने अदालतका सूचना अधिकारी दिपक दाहालले बताए।
गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरूको इजलासमा नपर्दा सुनुवाइ स्थगित भएको उनले बताए।
सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन।
असोज ७, २०८० आइतबार ११:०१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।