एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिम आज चीन जाँदै, मुद्दाको पेसी परेकाले सन्दीप टिमसँगै नजाने
काठमाडौं : एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली क्रिकेट टिम आज (आइतबार) चीन जाँदैछ। चीन जाने नेपाली टिमलाई नेपाली क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ।
बलात्कारको मुद्दा खेपिरहेका नेपाली टिमका स्पिनर सन्दीप लामिछाने भने आइतबार टोलीसँगै चीन जान नपाउने भएका छन्।
नाबालिग बलात्कार आरोपको उनीविरुद्धको मुद्दाको पेसी आजै परेकाले उनी टिमसँगै जान नपाएका हुन्। त्यसैले उनी क्यानको बिदाइमा पनि सहभागी थिएनन्। स्रोतका अनुसार सन्दीप सोमबार चीन जाने छन्।
तर न्यायाधीश अभावका कारण उनी विरुद्धको मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेसी नचढी स्थगित भएको हो।
यसअघि असोज १ गते पनि न्यायाधीश अभाव कै कारण उक्त मुद्दा पेसी नचढी स्थगित भएको थियो।
काठमाडौं जिल्ला अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँटमा मात्रै इजलास बस्नेछ। न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने अदालतका सूचना अधिकारी दिपक दाहालले बताए।
गोला प्रथाबाट इजलास तोकिंदा सन्दीपविरुद्धको मुद्दा उपस्थित न्यायाधीशहरूको इजलासमा नपर्दा सुनुवाइ स्थगित भएको उनले बताए।
गत हप्ताको पेसीमा पनि सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भए पनि उनी बिदामा भएका कारण सुनुवाइ स्थगित भएकाे थियो।
सन्दीपको मुद्दालाई फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्चले गत फागुन १५ गते नै निर्देशात्मक आदेश गरेको थियो। तर यसअघि पनि पटक–पटक पेसी चढेर पनि किनारा पाउन सकेको थिएन।
यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो।
उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले पीडित किशोरी र उनको परिवार बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ।
टी-२० फर्म्याटमा खेलाइने एसियाली खेलकुदको क्रिकेटमा नेपालले समूह चरणमा आगामी बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ।
समूह चरणमा पहिलो भएमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ। जहाँ नेपालको भेट टेस्ट टिमसँग हुनेछ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै क्वाटरफाइनलमा पुगेका हुन्।
नेपालले स्पिनर ललित नारायण राजवंशीको घाइते भएपछि उनको स्थानमा सागर ढकाललाई टिममा समेटेको छ।
असोज ७, २०८० आइतबार ११:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।