बाढीले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, सयौं यात्रु अलपत्र

बाढीले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध, सयौं यात्रु अलपत्र
फाइल फोटो

बागलुङ : दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौं, पोखरा, बागलुङ लगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन्।

लोकमार्ग ठप्प हुँदा सयौं यात्रु सडकमै अलपत्र परेका छन्। रातभर भारी वर्षा भएकोमा अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको  छ।

असोज ७, २०८० आइतबार ०९:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।