चिनियाँ राष्ट्रपति सीद्वारा एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन

चिनियाँ राष्ट्रपति सीद्वारा एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन
तस्बिर- सिन्ह्वा

एजेन्सी : चीनका राष्ट्रपति सी जिनपिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन्।

चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन्।

सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन्।

चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरेका थिए। सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमणमा आएका हुन्।

कार्यक्रममा कम्बोडिया, कुवेत, नेपाललगायत देशका नेताको उपस्थिति रहेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी भएका हुन्।

असोज ६, २०८० शनिबार २१:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।