छड्के-२ बाट रन्थनिएका अनमोलको' कन्फेसन'

छड्के-२ बाट रन्थनिएका अनमोलको' कन्फेसन'
तस्बिर स्रोत : अनमोलको फेसबुक पेज

काठमाडौँ : नेपाली फिल्म क्षेत्रमा प्रभाव बढाउन अनमोल केसीलाई उनको गुणस्तरीय अभिनय भन्दा पनि लामो समय बाबु भुवन केसीले बनाएको समूहले सघायो।

उनको अभिनय मध्यम थियो। तर उत्कृष्ट भएझैँ प्रचार गराइयो। उनले अभिनय गरेका एकाध फिल्मले राम्रै व्यापार गरे पनि अधिकांश फिल्मको व्यापार मध्यम नै थियो। तर उनलाई स्टारको पगरी दिन छाडिएन।

युवाहरूको ढुकढुकी, स्टार अभिनेता यस्तै यस्तै पानीका फोका जस्ता प्रशंसाले उचालिएर जब उनले छड्के-२ मा अभिनय गरे आफ्नै धरातल चाल पाए।

छड्के-२ मा उनी चिप्लिएपछि न उनको नक्कली स्टारडमले जोगाउन सक्यो न त उनको परिवारले फिल्म क्षेत्रमा बनाएको समूहले।

बलियो फ्यानफलोइङ बनेका कलाकार एकाध फिल्ममा कमजोर हुँदैमा उनीहरूको करिअरै धर्मराउने अवस्था आउँदैन। कलाकारका फ्यानले नै फिल्म हेरिदिएर कमसेकम लगानीसम्म सुरक्षित गरिदिन्छन्।

जब नक्कली फ्यानको बलमा कुनै कलाकार उचालिन्छ अनि स्वार्थी समूहको नक्कली प्रशंसाकै बलमा आफूलाई स्टार सम्झन्छन् उनीहरूको अवस्था अनमोलझैँ हुनु सामान्य नै हो।

होस्टेलबाट उनले कमाएका केही डाइहर्ट फ्यानहरू छड्के-२ सम्ममा आइपुग्दा निकै घटिसकेछ। क्याप्टेन लगायतका फिल्मले फ्यान घटाउन राम्रै योगदान गरेछ।

उमेर अनुसार व्यक्तिमा परिपक्वतापन आउनु स्वाभाविकै हो। छड्के-२ को असफलताले रन्थनिएका अनमोलमा पनि उमेरसँगै परिपक्वता आएको देखियो उनले शनिवार सामाजिक सञ्जालमा गरेको पोस्टबाट।

उनले आत्ममन्थन गर्दै लेखेको धारणामा 'म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको' उल्लेख गरेका छन्।

'मेरो पछिल्लो फिल्मले मलाई ठुलो पाठ सिकाएको छ। कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ। सबैभन्दा ठुलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो' उनले लेखेका छन्।

उनले आफू कुनै प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर रहेको र अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार नगर्ने उल्लेख गरेका छन्।

अनमोलमाथि फिल्म साइन गराउन उनकै परिवारको अभिभावकको दबाब हुने गरेको सार्वजनिक भएकै विषय हो। अझ विशेष भुवन केसीले अनमोललाई छोराको रूपमा भन्दा पनि फिल्म निर्माताको रूपमा आफू अनुकूल काम गराएर उनको साख गिराउन राम्रै योगदान गरे।

चलचित्र विकास बोर्डको अध्यक्षको प्रतिस्पर्धा चलिरहँदा उता अनमोलले भटाभट फिल्महरू साइन गरिरहेका थिए जसको सम्बन्ध बोर्ड नेतृत्व चयनसँग जोडिएको देखिन्थ्यो। अनमोलले जो निर्माता वा कलाकार जोडिएका फिल्महरू साइन गरे उनीहरूको पारिवारिक सम्बन्ध विकास बोर्डको नेतृत्व चयनमा हस्तक्षेप गर्न सक्ने सम्मको हैसियतको थियो।

भुवन बोर्ड अध्यक्ष हुन पनि सफल भए। भुवन बोर्ड अध्यक्ष भएपछि अनमोलले' जे गरे पनि मेरो करिअरमै असर पर्ने काम नगरिनुहोला' भनेको अपुष्ट चर्चा थियो त्यो बेलामा। बोर्ड अध्यक्षका रूपमा केसीले जे जस्ता काम गरे त्यसले भुवनको छवि त बिगार्यो नै बाछिटा अनमोलसम्म पुग्यो नै। त्यसैले पो उनी गम्भीर भएका हुन् कि!

'अबको मेरो एक मात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु' उनले शनिवार लेखेका छन्' किनकि मलाई लाग्छ मैले यति गर्न सके भने मात्र म एक सच्चा कलाकार ठहरिनेछु। यसले मलाई व्यक्तिगत रूपमा त राम्रो गर्छ नै म माथि भरोसा गरेर लगानी गर्ने निर्माताहरू माथि पनि भलो नै हुन्छ।'

उनले अब कसैले घोषणा गरेको आधारमा भन्दा पनि आफ्ना आगामी फिल्महरूबारे आफ्नो आधिकारिक सञ्जालबाट सार्वजनिक गर्ने र त्यसको आधारमा मात्र लेखिदिन सञ्चारकर्मीहरूलाई समेत आग्रह गरेका छन्।

असोज ६, २०८० शनिबार १८:४४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।