विश्वकप विजेताले ४० लाख डलर पुरस्कार पाउने, खेल जितेपिच्छे पुरस्कार
काठमाडौं : अर्को महिना सुरु हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपको विजेताले ४० लाख अमेरिकी डलरको पुरस्कार राशी पाउने भएको छ।
अहमदाबादमा अक्टोबर ५ देखि सुरू हुने प्रतियोगिताको लागि आईसीसीले कुल एक करोड अमेरिकी डलरको पुरस्कार राशी तयार गरेको छ।
उपविजेता टोलीले पनि २० लाख डलर पाउँदा सेमिफाइनल पुग्ने अन्य दुई टोलीले पनि ८ लाख डलर पाउनेछन्।
यसबाहेक समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएका अन्य ६ टोलीले १ लाख अमेरिकी डलर पाउने र समूह चरणको प्रत्येक खेलको विजेताले ४० हजार अमेरिकी डलर दिइने आईसीसीले जनाएको छ।
भारत यस विश्वकपमा आयोजकका रूपमा प्रत्यक्ष रूपमा छनोट भएको थियो। यसबाहेक २०२०-२०२३ ओडीआई सुपर लिगमा आफ्नो प्रदर्शनका आधारमा न्युजिल्यान्ड, इङ्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफगानिस्तान र अस्ट्रेलियाले पनि यस प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन्।
श्रीलंका र नेदरल्याण्ड यस वर्षको जुन–जुलाईमा खेलिएका छनोटका खेलका आधारमा यस प्रतियोगिताको हिस्सा बनेका हुन्।
यस विश्वकपमा १० टोलीले एक-पटक आमनेसामने हुनेछन् र ४५ वटा राउण्ड रोबिन खेल हुनेछन्। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्, जुन नोभेम्बर १५ मा मुम्बई र १६ नोभेम्बरमा कोलकातामा हुनेछ।
२०१९ को फाइनलमा पुगेका इंग्ल्याण्ड र न्यूजिल्याण्ड प्रतियोगिताको उद्घाटन खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आयोजक भारतले पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग खेल्नेछ भने अक्टोबर १४ मा अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ।
असोज ६, २०८० शनिबार १४:३१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।