चतुर बहादुरलाई पुनः क्यानको अध्यक्ष बनाउन परिवर्तनका पक्षधर पारसकै साथ

चतुर बहादुरलाई पुनः क्यानको अध्यक्ष बनाउन परिवर्तनका पक्षधर पारसकै साथ

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको कार्यकालमा क्यानले नै ठूलो तामझामका साथ पहिलो पटक आयोजना गरेको घरेलु फ्रेन्चाइज लिग (नेपाल टी-२० लिग) म्याच फिक्सिङको योजनासहित गराइएको खुल्यो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा आयोजकदेखि खेलाडीसम्म प्रतिवादी बने। 

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई चन्दकै जोडबलमा नेपाल टी-२० लिगको जिम्मा दिइएको थियो। प्रायोजक सेभेन थ्री स्पोर्ट्सकै अनलाइन बेटिङ (सट्टेबाजी) गर्ने कम्पनी थियो वनएक्सबेट। जसले नेपाल टी-२० लिगमा म्याच फिक्सिङसम्म गराउने काम गर्यो।

नेपालमा बेटिङ नै गैरकानुनी भए पनि नेपाल टी-२० लिग दौरान यसै कम्पनीले बेटिङ गरायो र अन्त्यमा म्याच फिक्सिङसम्म भएको खुलासा भएपछि पहिलो आयोजनामै नेपाल टी-२० लिग र क्यान नेतृत्व बदनाम भयो।

क्यानमा विरोध हुँदा हुँदै चन्दले नै पेलेर सेभेन थ्रीलाई नेपाल भित्र्याएका थिए। 

सीआईबीको अनुसन्धानमा प्रतियोगितामा संलग्न अधिकांश टिम नै म्याच फिक्सिङको योजनासहित राखिएको र खेलको प्राकृतिक नतिजाभन्दा मिलेमतोमा निकालिएको अनुसन्धानमा खुल्यो।

यस विषयमा राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले क्यान पदाधिकारीबारे गम्भीर अनुसन्धान गर्नुपर्ने थियो, तर गरेनन्।

उनै चन्द पुनः क्यानको नेतृत्वमा आउन उम्मेदवार मात्र बनेनन्, निर्विरोध निर्वाचित पनि भए।

अघिल्लो कार्यकालमा विभिन्न विवादका बाबजुद यो पटक पनि अध्यक्ष बन्न चन्दलाई प्रमुख साथ दिएका छन् नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले।

यसै निर्वाचनलाई लक्ष्य बनाउँदै नेतृत्वमा आउन पारसले दुई वर्षअघि क्रिकेटबाट सन्यास लिएका थिए। पारस बागमती प्रदेश अध्यक्ष निर्वाचित भएपछि नै चन्दले पारसलाई पनि आफूसँगै लिएर जाने घोषणा गरेका थिए।

पारसले चन्दकै प्यानलबाट सचिवको लागि उम्मेदवारी पनि दिए।

सोझो हिसाबले हेर्दा पारसलाई क्यान राजनीतिमा आउन चन्दले सहयोग गरेको देखिन्छ। तर विभिन्न विवादमा धमिलिएको आफ्नो छवि जोगाउन यो निर्वाचनमा चन्दले पनि नेपाली क्रिकेटका पूर्व स्टार पारसको साथ खोजेका थिए। र पारसले साथ दिए पनि।

चन्दलाई फेरी अध्यक्ष बनाउनमा पारस खड्का उनको सहयोगी नै बनेर लागे।

चन्दको अघिल्लो कार्यकाल विवादीत मात्रै होइन लाजमर्दो पनि थियो। क्यानको अध्यक्ष हुँदा पनि नेपाली कांग्रेसको सक्रिय राजनीति नछोडेका चन्दकै कर बलमा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको जर्सी लगाएर खेल खेल्ने अवसर पाए।

सन्दीप नाबालिग बलात्कारको मुद्दामा जोडिएदेखि नै उनी सन्दीपको पक्षमा देखिए। निलम्बन फुकुवा गराएर राष्ट्रिय टिमका स्वागत गरे।

अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि राखिएको क्लोज क्याम्पबाट निस्किएर आफ्नो फ्यानलाई होटलमा लगेर बलात्कार गरेको अभियोग लागेका उनीमाथि क्यानले छानबिन गरेर अनुशासन उल्लंघनमा कारबाही गर्नुपर्नेमा उल्टो संरक्षकको भूमिकामा देखिए। 

खेलाडीहरू माझ राजनीति भित्र्याउन उनी सक्रिय देखिएकै हुन्। उनकै कार्यकालमा ज्ञानेन्द्र मल्ल, सोमपाल कामी लगायतका खेलाडीले पारिश्रमिक र सेन्ट्रल कन्ट्र्याक्टका कारण विद्रोह गरे। खेलाडीहरूले आफूमाथि भएको अन्यायबारे पत्रकार सम्मेलन नै गरेका थिए।

जसकारण विद्रोही खेलाडीहरूलाई क्यानको सेन्ट्रल कन्ट्र्याक्ट बाहिरै राखियो। ज्ञानेन्द्रको कप्तनी नै खोसियो। यसै कारण पूर्व कप्तान ज्ञानेन्द्रको करियर नै समाप्त पनि भयो।

त्यसा बेला पारस तीनै विद्रोही खेलाडीको साथमा थिए भने क्यान र चतुरको विरुद्धमा। तर यो पटक चन्द नेतृत्वको मैदानमा पारस सहितकै समर्थनमा निर्विरोध निर्वाचित भए।

असोज ६, २०८० शनिबार १२:२६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।