अभिनेता अनुप बराललाई १७ वर्षपछि उषा रजकको आरोप : 'राम्रो रोल आए खोसेर दियालाई दिन्छन्'

अभिनेता अनुप बराललाई १७ वर्षपछि उषा रजकको आरोप : 'राम्रो रोल आए खोसेर दियालाई दिन्छन्'

काठमाडौँ : अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालमाथि गम्भीर आरोप लगाएकी छिन्। अनुपकै ‘एक्टर्स स्टुडियो’मा अभिनय सिकेकी उनले आफू छानिएको फिल्मबाट हटाएर तत्कालीन आफ्नी प्रेमिका दिया मास्केलाई अभिनय गराएको दाबी गरेकी हुन्। दिया अहिले अनुपको श्रीमती हुन्। पहिलो विवाह टुटेपछि अनुपले दियासँग दोस्रो विवाह गरेका हुन्।

रजकले शुक्रवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राम्रो फिल्म आएको खण्डमा अरूबाट खोसेर दियालाई दिने गरेको गम्भीर आरोप लगाएकी छन्।

उनले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर अनुपले दियालाई अभिनय गराएको आरोप लगाइन्।

‘एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म। १७ वर्षअघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनुहुन्थ्यो, अहिले पनि त्यही कुरीति कायम नै छ,’उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन। सन् २००६ मा एक्टर्स स्टुडियोको ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो। त्यहाँ भूषण दाहाल र टिम कास्टिङको लागि आएका थिए। पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मङ्ग्राती अडिसनमा थियौँ। ‘कागबेनी’ फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे। तर रातारात म आउट, दिया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ।’

उनले आफूलाई फिल्मबाट हटाइएको बारेमा अनुपसँग कुरा गर्दा अन्यत्र  कुरा मोडेको आरोप लगाएकी छन्। उनले परिवारवाद र समर्थनवाद किन भन्दै बिरालोको घाँटीमा घण्टी कसले बान्ने भन्दै प्रश्न गरेकी छन्।
‘कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई भूमिका दिन पाइयो। तर, एउटा शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुपर्छ। परिवारवाद, समर्थनवाद किन?’,उनले थप लेखेकी छिन्,‘ मैले एक्टर्स स्टुडियोका धेरै विद्यार्थीले पछाडि पछाडि यो कुरा भनेको सुनेको छु। तर, बिरालोको घाँटीमा घण्टी कसले बान्ने ?’
उनले अन्तमा आफ्नो अनुपसँग कुनै रिस नभएको र दिया मास्केलाई पनि राम्रो कलाकार भएको उल्लेख गरेकी छन्।

असोज ६, २०८० शनिबार ००:०९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।