प्रेस काउन्सिल पुरस्कार विवादमा, बोर्ड सदस्य दाहालको बहिष्कार

प्रेस काउन्सिल पुरस्कार विवादमा, बोर्ड सदस्य दाहालको बहिष्कार

काठमाडौँ : पटक-पटक विवादित हुँदै आएको प्रेस काउन्सिलको नेतृत्व पुरस्कारमा थप विवादित भएका छन्।

पदीय मर्यादा विपरीत काम गरेको भन्दै अध्यक्ष बालकृष्ण बस्नेत निरन्तर विवादमा पर्दै आएका छन्। यस पटक काउन्सिलकै सदस्यले उनीमाथि गम्भीर आरोप लगाउँदै वार्षिकोत्सव नै बहिष्कारको घोषणा गरेका छन्।

काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले शुक्रवार नेतृत्वले विधि–प्रक्रिया नपुर्याई मनोमानी रूपमा पुरस्कृत व्यक्तिको नाम छनौट गरेको भन्दै असहमति जनाएका हुन्।
उनले विज्ञप्ति नै निकालेर प्रेस काउन्सिलले आफ्नो ५४ औँ वार्षिक उत्सवका अवसरमा प्रदान गर्न लागेको पत्रकारिता पुरस्कार छनौट गर्न असोज २ गते बसेको बोर्ड बैठकले चर्को विवादबिच सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारदेखि प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार करिब ६० को सङ्ख्यामा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने गरेको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति रहेको बताएका छन्।
२०७८ मा ३४ र २०७९ मा ४६ जनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएकोमा यो वर्ष २०८० का लागि ६० जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार दिने भनी गरिएको निर्णय अपारदर्शीमात्र नभई मापदण्ड तथा विधि–प्रक्रिया बिना हचुवा भएको र काउन्सिल नेतृत्वको तजबिजमा लिइएको उनको आरोप छ।

'बोर्डमा अध्यक्षबाटै प्रस्तावित कतिपय जुझारु युवा पत्रकारको नाम कपटपूर्ण र पूर्वाग्रही ढङ्गले हटाई मनोमानी ढङ्गले नाम घोषणा गर्दा म स्तब्ध भएको छु' उनले भनेका छन्' बोर्ड बैठकमा प्रस्तावै नगरिएका नामहरू थपेर अझ जात्रा देखाइएको छ।'
उनले पुरस्कार छनौटका लागि वरिष्ठ सदस्य हरि प्रसाद जोशीको नेतृत्वमा सात सदस्यीय समिति निर्माण गरेको र सो समितिमा आफू समेत सदस्य रहेकोमा संयोजक जोशीले बोर्ड समक्ष सिफारिसका लागि हरेक सदस्यबाट तीन–तीन जनाको नाम पुरस्कारका लागि मागेको उल्लेख गरेका छन्।

'म यो भागबन्डाप्रति असहमत रहे। त्यसपछि अन्य ६ जना सदस्यहरूबिचको सहमतिमा २७ जनाको नाम पत्रकारिता पुरस्कारका लागि अध्यक्ष समक्ष सिफारिस गर्नुभयो। तर, अध्यक्षले सो सिफारिस लत्त्याउँदै एउटा बोर्ड बैठकमा ४५ जनालाई पुरस्कार दिने भनी नाम प्रस्तावित गर्नुभयो, अर्को बैठकमा ५४ जनाको नाम प्रस्तावित गर्नुभयो । र, अन्तिम बैठकमा अध्यक्षले नै म यो सङ्ख्यामा असन्तुष्ट छु भन्दै ती नामहरू प्रस्ताव गर्नुभयो।'

सदस्यहरूले सङ्ख्या घटाउन र लेखनमा सक्रिय पत्रकारलाई पुरस्कार दिन सुझाव दिँदा कुनै सुनुवाइ नगरी उल्टै सदस्यलाई हप्कीदप्की गर्दै र, विवादबिच आफ्नो प्रस्ताव पारित भएको भन्दै बैठक टुङ्ग्याएको भन्दै उनले अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन्।

'पुरस्कार घोषणा हुँदासम्म त्यो सङ्ख्या निकै बढाउने कार्य गरियो। काउन्सिलले वितरण गर्ने पुरस्कारका सम्बन्धमा व्यापक टीकाटिप्पणी हुने गरेको सन्दर्भमा कम विवादित बनाउनेतर्फ नेतृत्वले पटक्कै ध्यान नदिँदा काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन यस पटक पनि असम्भव भयो' उनले विज्ञप्तिमा भनेका छन्।

अर्थ मन्त्रालयले काउन्सिलको पुरस्कारमाथि पटक पटक प्रश्न गर्दा समेत वार्षिकोत्सव खर्चबाट काउन्सिलले पुरस्कार वितरण गर्दै आएको र यस पटक पुरस्कारका लागि विनियोजित रकम भन्दा निकै बढी खर्च गर्ने तयारी भएको भन्दै उनले मुलुकको आर्थिक अवस्था जीर्ण रहेको अवस्थामा राज्य कोषको मनपरी प्रयोगलाई कदापि समर्थन गर्न नसकिने उल्लेख गरेका छन्।

'मैले आफ्नो असहमति लेख्न आज प्रेस काउन्सिलको सचिवालयमा निर्णय पुस्तिका प्राप्त गर्ने प्रयास गरेको थिएँ। तर सचिवालयले निर्णय पुस्तिका दिन आनाकानी गरेपछि सदस्य–सचिव र सचिवालय प्रमुखलाई मेरो असहमति लेख्ने अधिकारबारे जानकारी गराएको छु' उनले लेखेका छन्' काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन आवश्यक विधि–प्रक्रिया नपुर्याइएकोप्रति मेरो असहमति रहेकाले असोज ६ गते हुने वार्षिकोत्सव समारोहमा समेत उपस्थिति जनाउन असमर्थ रहेको जानकारी गराउन चाहन्छु।'

असोज ५, २०८० शुक्रबार २३:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।