सरकार र शिक्षक महासंघबीच सात बुँदे सहमति

सरकार र शिक्षक महासंघबीच सात बुँदे सहमति

काठमाडौं : सरकार र विद्यालय बन्द गरेर काठमाडौंकेन्द्रीत आन्दोलनमा उत्रिएको शिक्षक महासंघबीच सात बुँदे सहमति भएको छ।

शुक्रबार भएको गृह मन्त्रालयमा भएको वार्तापछि सरकार र आन्दोलनरत शिक्षकबीच सात बुँदे सहमति भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ।’

अहिले सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको छ।  सहमति भएसँगै विद्यालय बन्द गरेर आन्दोलनमा आएका शिक्षकहरूले आन्दाेलन फिर्ता लिने भएका छन्।

वार्तामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोकुमार राई र कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी थिए।

सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गरेर काठमाडौंकेन्द्रीत आन्दोलन थालेको थियो।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार छ बुँदे लेखिएकोमा पछि सात बुँदे भएपछि शिर्षक सच्याइएको छ।- सम्पादक

असोज ५, २०८० शुक्रबार १७:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।