राष्ट्रसंघको महासभामा प्रचण्डले भने : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा

राष्ट्रसंघको महासभामा प्रचण्डले भने : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा

एजेन्सी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी दिए।

प्रचण्डले भने, ‘नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिरहेको छ। प्रधानमन्त्री र वृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरू बीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु।’

सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

पीडितहरूको चासोलाई सम्बोधन गर्न उनीहरूसँग गम्भीर छलफल र अन्तरक्रिया पश्चात् विधेयक संशोधनको लागि संसद्मा प्रस्तुत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आम माफी नदिने पनि स्पष्ट पारे।

‘म अन्तर्राष्ट्रिय समुदायलाई शान्ति प्रक्रियालाई अन्तिम रूप दिनका लागि सद्भाव र समर्थन गर्न अपिल गर्दछु,’ उनले भने।

‘नेपालको शान्ति प्रक्रियाको रुपान्तरण सदियौंदेखि चल्दै आएको राजतन्त्रबाट गणतान्त्रिक प्रजातन्त्रको अङ्गीकार गरेको छ। यो रुपान्तरण बहुदलीय प्रजातान्त्रिक परिपाटी हो जसले समाजका हरेक क्षेत्र र तप्काका नागरिकलाई सहभागिताका लागि सुनिश्चित गराएको छ,’ उनले थपे।

असोज ५, २०८० शुक्रबार ०९:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।