सात वर्षअघिको प्रेममा धोका खाएपछि नौ महिने छोरीसहित प्रेमिकाको विभत्स हत्या

सात वर्षअघिको प्रेममा धोका खाएपछि नौ महिने छोरीसहित प्रेमिकाको विभत्स हत्या

सुर्खेत : सल्यानमा आमा छोरीको जलाएर विभत्स हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सल्यानको सिद्धकुमाख गाउँपालिका-२, खानिगाउँ स्थायी ठेगाना भएका २८ वर्षीय कर्णबहादुर बस्नेतलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीले बुधबार उनलाई सिद्धकुमाख गाउँपालिका-३, ढोरचौरबाट प्रक्राउ गरेको भए पनि बिहीबार मात्रै सार्वजनिक गरेको हो।

गत भदौ ३० गते राति जिल्लाको त्रिवेणी गाउँपालिका-२, काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा फेला परेको थियो।

जिल्ला त्रिवेणी गाउँपालिका-२, झालेढुंगास्थित थापा टोल बस्ने सुकलाल थापाको टिनले छाएको एक तले कच्ची घरमा थापाकी २९ वर्षीया श्रीमती रेवती थापा र उनकी नौ महिनाकी छोरी रितु थापा सुतेका थिए।

बिहान अबेरसम्म आमा छोरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएपछि सल्यानस्थित ईलाका प्रहरी कार्यालय लुहाममा खबर गरेका थिए।

स्थानीयको खबरपछि ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरे पनि घटनाको प्रकृतिअनुसार हत्या भएको हुनसक्ने निष्कर्ष निकाल्दै सुक्ष्म अनुसन्धान थालेको थियो।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायव उपरीक्षक नवीन कार्की तथा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्माको कमाण्डमा दुई जनाको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए।

प्रहरीले अनुसन्धानका लागि केनाईन शाखाबाट प्रहरी नायव निरीक्षक विष्णु पौडेलको कमाण्डमा तालिम प्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थल खटाएर सुक्ष्म अनुसन्धान गरेको थियो।

घटना घटेकै दिन प्रहरीले रेवतीको मोबाइलबाट सुराक पत्ता लगाएर बस्नेतमाथि निगरानी सुरु गरेको थियो। निज बस्नेत संकास्पद देखिएपछि बुधबार उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको हो।

प्रहरीले शव परीक्षणका लागि भेरी अञ्चल अस्पताल बाँके पठाएर परीक्षणपछि सदगदको लागि परिवारको जिम्मा लगाएको थियो।

पुरानो रिस साध्न हत्यापछि जलाइयो
घटना घटेलगत्तै प्रहरीले रेवतीले प्रयोग गरेको मोबाइलबाट केही सुराक पत्ता लगाइसकेको थियो। अभियुक्त कर्णबहादुर बस्नेतले मृतक रेवती थापासँग पुरानो रिस साध्नलाई विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘अभियुक्त कर्णबहादुरको मृतक रेवती थापासँग झण्डै सात वर्षअघि फेसबुकमार्फत चिनजान भएको भएको थियो। कुराकानीकै क्रममा गहिरो प्रेम सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘उनीहरूबीचको निरन्तर प्रेम सम्बन्धपछि पटक-पटक शारीरिक सम्बन्धसमेत स्थापित भई विवाह गर्नेसम्मको कुरा भएको अनुसन्धानबाट खुलेको छ।’

यति मात्रै होइन, उनीहरूबीच हुने शारीरिक सम्बन्धको क्रममा सहमतिमा अश्लिल तस्बिर र भिडियोसमेत लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रवक्ता भट्टराईका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध चलिरहेकै बखत अभियुक्त कर्णबहादुर वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१८ मा दुवई उडेका थिए। उनी दुवईमा रहदा रेवतीले त्रिवेणी गाउँपालिका-२, काँरागिठीका सुकलाल थापासँग विवाह गरेकी थिइन्। सोही विषयलाई कर्णबहादुरले धोका र इगोको रूपमा लिएपछि घटना घटेको प्रहरी अनुन्धानमा उल्लेख छ।

कर्णबहादुर विवाहित भए पनि रेवतीसँग दोस्रो विवाह गर्ने सहमति भएको भन्ने बयान अभियुक्तले दिएका छन्। रेवतीले विवाह गरे पनि करिब दुई वर्षअघि कर्ण बहादुरसँग विभिन्न माध्यम प्रयोग गरी पुनः सम्बन्ध स्थापित भएको देखिन्छ।

पुरानो इगो र शारीरिक सम्बन्धको क्रममा सहमतिमा लिइएका अश्लिल तस्बिर र भिडियोको विषयमा रेवती र कर्णबहादुरबीच ठूलो मनमुटाव सुरू भएको देखिन्छ। सो फोटो र भिडियोकै कारण रेवतीको पतिसँग समेत ठूलो झगडा भई सम्बन्धमा केही समय समस्या आएको अनुसन्धानबाट खुलेको छ।

पछि सोही विषय बढ्दै जाँदा करिब आठ महिनाअघिबाट कर्णबहादुरले दुबईमै रहेको समयमा नेपाल फर्कनासाथ हत्या गर्ने योजना मुताविक करिब चार महिनाअघि हत्या गर्नकै लागि बिदासमेत मागेको तर बिदा नपाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या योजनासहित भदौ २६ गते दुबईबाट नेपाल आएका कर्णबहादुरले भदौ २९ गते राति हत्या गरेको स्वीकारेका छन्।

अभियुक्त कर्णबहादुर विगत १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेशिया, दुवै र भारमा बस्दै आएका थिए। प्रहरीका अनुसार हत्याको योजना बनाएर २६ भदौमा काठमाडौंबाट सल्यान शिद्धकुमाख-२, खानीगाउँस्थित आफ्नै घरमा दुई दिन बसेका कर्णबहादुर २९ भदौमा स्थानीय श्रीनगर बजारसम्म गाडीमा आई पेट्रोल र सलाई खरिद गरेर मृतक रेवतीको गाउँ पुगेका थिए।

साँझमै उक्त गाउँ पुगे पनि केही समय जंगलमा बसेर कर्णबहादुर रातको ९ बजेर ५० मिनेटमा मृतक रेवतीको घरमा पसेर सुरूमा घाँटीमा कपडाले कसेर लडाएको प्रहरीले जनाएको छ।

त्यसपछि शरीरमा पेट्रोल छर्की आगो लगाएपछि रेवती र ओछ्यानमा सुतिरहेकी नौ महिनाकी छोरी रितुलाई जलाएर विभत्स हत्या गरेको कर्णबहादुरले स्वीकार गरेका छन्।

घटना घटाएपछि नजिकै कसैको घरमा बास बसी विहान सबेरै ३-४ बजेको समयमा त्यहाँबाट आफ्नो घर शिद्धकुमाख ३ तर्फ फर्केको फर्केको प्रहरीको विस्तृत अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

असोज ४, २०८० बिहीबार २२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।