पार्टीको नाममा खोलिएका फेक आइडी सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन एमालेको आग्रह

पार्टीको नाममा खोलिएका फेक आइडी सञ्चालकलाई १५ दिनभित्र सम्पर्कमा आउन एमालेको आग्रह

काठमाडौं : एमालेले पार्टी र नेताहरूको नाममा सञ्चालन भएका सामाजिक सञ्जाल प्रयोगकर्तालाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी पार्टीर नेतृत्वका नाममा अनधिकृत रूपमा नक्कली आइडी बनाउनेलाई १५ दिनभित्र सम्पर्कमा आउन भनेको हो।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको उनको ठहर छ।

‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ’, उनले भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ। अन्यथा यस्ता फेक एकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानूनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ।’

असोज ४, २०८० बिहीबार १९:३८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।