शिक्षक आन्दोलनका कारण प्रतिनिधिसभाको दुई समितिको बैठक स्थगित

शिक्षक आन्दोलनका कारण प्रतिनिधिसभाको दुई समितिको बैठक स्थगित
तस्बिर- नरेन्द्र सापकोटाको फेसबुकबाट

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्।

नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो।

बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएका हुन्।

अर्थसमितिका सभापति सन्तोष चालिसेले गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी दिए। कतिपय सांसद जिल्ला बाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ।

अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।

समितिमा कूल २४ जना सांसद रहेकामा गणपूरक सङ्ख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार आधा घण्टासम्म गणपूरक सङ्ख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ। २७ सदस्य रहेको समितिका १४ जना सांसद उपस्थित भए बैठक बस्नेमा १२ जनामात्र उपस्थित थिए।

असोज ४, २०८० बिहीबार १८:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।