दुई महिनामा पाँच अर्बको विद्युत् भारत निर्यात
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको छ।
प्राधिकरणले गत साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो।
दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत् निर्यात भएको हो।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ। दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।
प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडलाई बिक्री गरिरहेको छ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभीएनलाई एक सय १० मेगावाट गरी कुल छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ।
यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।
असोज ४, २०८० बिहीबार १८:३४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।