श्रष्टा माधव केसीको हिजोका कुरा : त्रिवि बनाउँदा अघोरी बाबाले बिन्ती बिसाएपछि राजाले रोपनीको ५० रुपैयाँ थपिदिए
वि.सं. २०१६ सालमा साविकको चोभार गाविस अहिलेको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा जन्मिएका हुन् माधव केसी। कीर्तिपुर र चोभार आसपास नै बाल्यकाल बिताएका उनले नजिकैको विद्यालय पढे। २०३५ सालतिर साझा प्रकाशनमा दैनिक पाँच रुपैयाँको ज्यालादारीमा काम गरे उनले। विस्तारै अस्थायी हुँदै स्थायी नियुक्ति पाए। तर उनी जागिरमा मात्र अडिन सकेनन्, सर्जकलाई सिर्जना गर्ने हुटहुटी नहुने कुरै भएन। गीत लेख्न थाले। ३८ सालतिर ‘नरोउँ माया सम्मेर मलाई’, ‘पातै फरर’ जस्ता गीतहरू रेकर्ड गराएका थिए। जुन गीत सर्वाधिक चर्चामा रहेको थियो। ५४ सालमा नायब सुब्बा भएर अवकास लिएका उनै केसीले उकेरासँग आफ्ना हिजोका अनुभव साटेका छन्।
अघोरी बाबाले बिन्ती बिसाएपछि राजाले ५० रुपैयाँ थपिदिए
माधवले थाहा पाउँदासम्म कीर्तिपुरमा केही मात्र घर थिए, बाँकी सबै खेतबारी। घर नजिकैको बाघ भैरव विद्यालयबाट उनको विद्यालय शिक्षा सुरु भयो। विद्यालय जाँदा खेतका आली भएर जान्थे उनी। अहिले च्याउ सरि उम्रिएको घर देख्दा उनलाई सपनाजस्तो लाग्छ।
‘हामीले यो ठाउँ यस्तो होला भनेर कहिलै कल्पना नै गरेका थिएनौँ। माओवादीको जनयुद्धपछि विस्तारै घर थपिएका हुन्,’ विगत सम्झँदै उनी भन्छन्, ‘केहि वर्ष अघिसम्म यहाँको जग्गाको भाउ यतिको महँगो थिएन। द्वन्द्वकालपछि जमिन महँगियो।’
उनले थाहा पाउँदा कीर्तिपुरमा २ सय रुपैयाँमा एक रोपनी जग्गा आउँथ्यो। उनीहरूले नै त्रिभुवन विश्वविद्यालयलाई मुआब्जामा जग्गा दिँदा रोपनीको २ सय ५० रुपैयाँ पाएका थिए।
उनी भन्छन्, ‘अहिले रहेको त्रिभुवन विश्वविद्यालयको गेटबाट यता पट्टिको (पश्चिम) १६ रोपनी जग्गा हाम्रै थियो। कीर्तिपुरको खानेपानी र वर्कसप बसेको छ नि! त्यो पनि हाम्रै थियो। ती सबै सुरुमा २ सय रुपैयाँ रोपनीमा मुआब्जामा राजाले लिएका थिए।’
नेवार समुदाय र अन्य समुदायलाई २ सयमा मर्का पर्यो भनेर एक जना जोगीले राजालाई बिन्ती चढाएपछि ५० रुपैयाँ थप गरिदिएको मावन सम्झन्छन्।
‘बैशाख पुर्णिमाको दिन राजाहरूको देवाली दक्षिणकालीमा हुन्थ्यो। राजा आउनुभन्दा अघिल्लो दिन त्रिभुवन विश्वविद्यालयको अहिलेको गेटअगाडी घडासहितको गेट बनाएर कीर्तिपुरवासी बसेका थिए,’ उनले विगत सम्झिए, ‘राजा आएपछि अघोरी बाबाले हामी कीर्तिपुरबासीलाई मुआब्जामा मर्का पर्यो भनेपछि राजा महेन्द्रले ल ५० रुपैयाँ थपिदिनु भन्ने आदेश आयो। त्यसपछि २५० पाइएको थियो।’
उनका अनुसार त्यो समय एक रोपनी जमिनको पैसाले धुमधामले विवाह गरे पनि एउटा विवाह उत्रिन्थ्यो।
‘एक रोपनी जग्गा बेच्दा मेरो फुपुको विवाह गरिएको थियो,’ उनले हाँस्दै भने, ‘अहिले त मलाई ती सबै सपनाजस्तो लाग्छ। ४० लाख रुपैयाँमा पनि यहाँ एक टुक्रा जमिन पाइँदैन। रोपनीको त कुरै छोडौँ।’
गोरु जोत्न पाइँदैन्थ्यो, रोपनी जग्गामा पनि खनेरै खेतीपाती
उनका अनुसार कीर्तिपुरबासीहरूले गोरुले कहिलै खेत जोतेनन्। पशुपति नजिकको बस्तीमा गोरु जोत्नुहुँदैन भन्ने धारणा रहेछ त्यतिबेला।
‘पशुपतिमा साढेलाई पूजा गरिने र नजिकैको बस्ती भएर यहाँ गोरु कसैले पनि जोत्दैन थिए। सबैले खनेर नै रोपनीका रोपनीमा बाली लगाउँथे,’ त्रिभुवन विश्वविद्यालयतर्फ देखाउँदै उनी भन्छन्, ‘उ त्यो टियुको गेटदेखि अगाडि १६ रोपनी जग्गा थियो। त्यहाँ हामी धान मकै जे बाली लगाए पनि खनेरै लगाउथ्यौँ।’
उनका अनुसार त्यो समय सबै काम अर्मपर्ममा नै हुन्थ्यो। मान्छेहरू सबै खेतबारीमा काम गर्थे र गाईवस्तु, भैँसी, बाख्रा पाल्थे। आफ्नै घरमा पनि दुई वटा भैँसी अटुट रहेको माधव सम्झन्छन्।
‘हाम्रो घरमा दुई वटा लैनो भैँसी हुन्थ्यो। खसी बोका प्रशस्तै पालिन्थ्यो। यहाँ घरमा पालेको खसी कसैले पनि काट्दैन थिए। दशैंको बेला आफूले पालेको खसी बेचेर अर्को ल्याएर काट्ने चलन थियो,’ यसबारे थप प्रस्ट्याउँदै उनी थप्छन्, ‘आफूले पालेको काट्न माया लाग्ने भएर त्यसो गरेका।’
त्यो समय दशैँमा खसी, च्याङ्ग्रा र भेडा खाएअनुसार उनीहरूको हैसियत थाहा पाइने उनी सुनाउँछन्। अलि धनाड्यले खसी काट्ने, मध्यम वर्गकोले च्याङ्ग्रा र न्यून आए भएकाले भेडा काट्ने गरेको उनको भनाइ छ।
‘एक हजार हाराहारीमा खसी, चार÷पाँच सयमा भेँडा र च्याङ्ग्रा आउने भएकाले पनि मान्छेको स्तर छुट्याइन्थ्यो।’
खाजा खाएर पैसा दिँदा जुठो हुन्थ्यो
बाघ भैरव प्राविमा पाँच कक्षासम्मको अध्ययन सकेपछि लगनखेलको मच्छिन्द्र माध्यमिक विद्यालयमा पढ्न थाले।
विद्यालय जनाँदा अहिले जस्तो खाजा खाने पैसा बोकेर कमै विद्यार्थी जान्थे। पसल पनि एकदमै कम हुन्थ्यो। तर, पैसा लिँदा जुठो भयो भनेर पैसा धोएर राख्ने गरेको उनी सम्झन्छन्।
उनी थप्छन्, ‘बुबासँग हामी पाँच पैसा मागेर स्कुल जान्थ्यौँ। आलुको चप, चना, पकौडा लगायतका खानेकुराहरू पाइन्थे पसलमा। पाँच पैसामा चखन्ती भन्ने भाँडोको एक भाँडो आउँथ्यो। मज्जाले अघाइन्थ्यो। खाजा खाइसकेपछि पैसा तिर्दा जुठो लाग्यो व्यापारीले धोएर राख्थेँ।’
खाजा खाएर पैसा तिर्दा गाली खाएको अनुभव उनले बटुलेका रहेछन्।
‘यहि धोवीघाटमा एउटा पसल थियो। त्यहाँ आलुचप खाएका थियौँ,’ उनले ५० वर्षअघिको प्रसङ्ग सम्झिए, ‘पैसा दिएको त जुठो दियो भनेर ती पसलेले थर्काए अनि पैसा चाहिँ धोएर राखे। त्यो कुराले अझै मनमा बिझ्छ।’
पाँच रुपैयाँ दैनिक ज्यालामा काम
४६ सालअघिसम्म नेपालमा जागिर योग्यता भएपछि पाइने गरेको माधवको अनुभव छ। उनले ३४ सालमा साझा प्रकाशनमा ज्यालादारीमा काम गरे, दिनको पाँच रुपैयाँमा।
उनी भन्छन्, ‘मैले साझा प्रकाशनमा पाँच रुपैयाँको ज्यालादारीमा काम थालेँ। हाकिमको सबै काम मैले नै गर्नुपर्थ्यो।’
लेखाइ राम्रो भएकाले दुई वर्षपछि अस्थायी नियुक्त पाए उनले। तह मुखियासरह, तलब महिनाको २ सय ५४ रुपैयाँ।
त्यसको केहि वर्षपछि स्थायी हुँदा ३ सय ३० रुपैयाँ तलब भयो, त्यो समय उनी खरदारसरह भइसकेका थिए। पछि २०५४ सालमा नायब सुब्बा भएर अवकाश पाए। त्यतिबेला उनको तलब ८ सय ८० रुपैयाँ थियो।
तलब कम भए पनि ५४ सालमा एउटा परिवारलाई प्रयाप्त भएको उनको अनुभव छ।
माधव साझा प्रकाशनमा गोदाम हेर्ने प्रमुख भएरसमेत काम गरे। उनी त्यहाँ हुँदासम्म एउटा पुस्तकले २५० रुपैयाँसम्म रोयल्टी बुझेको उनी सम्झन्छन्।
‘पुस्तकको रोयल्टी लिन संस्कृतिविद् सत्यमोहन जोशी, भैरव अर्याल, पछिल्लो समय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसम्मका श्रष्टाहरू आउनुहुन्थ्यो।’
गीत संगीतको यात्रा
माधवले साझा प्रकाशनमा जागिरे हुँदै गीत लेखनमा समेत सक्रिय रहे। उनले थुप्रै गीतहरू लेखे। गायक गायिकाले गाए पनि तर चल्यो भने दुई वटा मात्र।
‘३८ सालतिर मेरो दाजुले गायक हरिबहादुर राउतसँग भेटाइदिनुभएको थियो। उहाँसँगको भेटमा मैले दुई वटा गीत दिएको थिएँ। उहाँले ‘नरोउ माया सम्झेर मलाई’ छान्नुभयो र रेकर्ड भयो। गीत चल्यो। त्यहि गीतले मलाई माधव केसी भनेर चिनायो।’
त्यसपछि थुप्रै गायक गायिकाहरूसँग चिनजान भएको र गीतहरू लिएर गए पनि कति गीत रेकर्ड भयो भन्नेबारे उनी जानकार छैनन्।
असोज ४, २०८० बिहीबार १५:५१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।