भारत-क्यानडा विवाद : भारतीय भिसा सेन्टर बन्द

भारत-क्यानडा विवाद : भारतीय भिसा सेन्टर बन्द

एजेन्सी : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको छ। 

भारतीय दूतावासका लागि सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले अर्को सुचना नभएसम्मकालागि भिसा सेवा बन्द भएको जनाएको छ।  

दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशका उच्च कुटनीतिक कर्मचारीलाई देश निकाला गरिसकेका छन्। 

विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ। 

उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै बेलाबेलामा कम्पनीको वेबसाइट हेर्न समेत सबैलाई आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि यी दई देशको कुटनीतिक विवाद चर्किदै गएको छ।

असोज ४, २०८० बिहीबार १५:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।