क्रिकेटमा उदाउँदै गुल्मीका अशोक

क्रिकेटमा उदाउँदै गुल्मीका अशोक

बुटवल : गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडिको पहिचान बनाउन सफल भएका छन्। 

सानै उमेर देखि क्रिकेट हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिबारको साथले अन्डर–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन्। 

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. १ हुँगामा जन्मिएका पौडेल अहिले अन्डर–१९ राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्पमा परेका हुन। 

बुवा शोभाखर पौडेल र आमा तुल्सा पौडेलको काखबाट जन्मिएका अशोकको बाल्यकाल गुल्मीमै वित्यो। कक्षा १ देखि ३ सम्म गुल्मीमै पढेका उनले कक्षा ४ र ५ भने बुटवलमा रहेको ह्वाईड बोडिङ स्कुलमा पढे। 

त्यसपछि अध्यायनका लागि उनी काठमाडौं छिरे। क्रिकेटप्रति उनको रुची भएपनि गाउँमा त्यत्ति सहज भएन। अध्यायनकै लागि काठमाडौं आएका उनले १२ बर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरे।

काठमाडौंमा रहेको ग्रेड हिमालय क्रिकेट एकेडेमी बाट प्रशिक्षण लिएपछि औपचारिक क्रिकेट खेल्न थालेका पौडेल अथक मेहनत र परिश्रम बाट अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका हुन। बन्द प्रशिक्षणमा पर्नु अघि उनले प्रदेश स्तरिय क्रिकेट खेल समेत खेलिसकेका छन्।

अन्डर–१९ प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ३ बर्ष सम्म बाग्मती प्रदेशबाट खेलेका अशोक बुवा र आमाको प्रेरणाले नै क्रिकेटमा रुची बढ्दै गएको बताउँछन्। 

अन्डर–१९ मा पहिलो पटक छनोट भएपनि ईन्जुरीका कारण खेल्न नपाएका अशोकले पछि प्रधानमन्त्री कप क्रिकेट खेले।

नुवाकोट बाट पिएम कप खेलका अशोकले काठमाडौं विरुद्ध ६० रन बनाएका थिए । त्यसपछि फेरी ईन्जोरी भयो। 

‘खेल्ने क्रममा ईन्जोरी भएपछि डाक्टरले ४० दिन आराम गर्न सल्लाह दिनुभएको थियो। तर २० दिनपछि अन्डर–१९ को गेम भएकोले २० दिनमै खेल खेले बाग्मतीबाट। त्यो बेला कर्णालीलाई ५८ रन हानेको थिए’ उनले भने।

उनले अहिले बन्द प्रशिक्षणमा भएपनि आफू अन्डर–१९ राष्ट्रिय टिममा पर्ने आशा गरेको बताए। देशका लागि क्रिकेट खेल्ने सपना रहेको उनको भनाइ छ।  

असोज ४, २०८० बिहीबार १३:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।